
रसियाको अझै पनि ‘अफशोर स्वाप्स’मा (विदेशी मुद्रा विनिमय) ३०० बिलियन अमेरिकी डलर रहेको अनुमान गरिएको छ। रसियामाथि प्रतिबन्ध लागे अथवा प्रतिबन्ध छल्न ती रकम अन्तै सारिए सो परिमाणको रकमले विश्व मुद्रा बजारमा हलचल पैदा गर्न सक्ने विज्ञको दाबी छ।
यो दाबी 'क्रेडिट सुइस ग्रुप एजी'का रणनीतिकार जोल्टन पोजसारको हो, जसले बैंक अफ रसिया र वित्तीय बजारहरूबाट तथ्याङ्क निकालेर सो प्रक्षेपण गरेका हुन्।
‘जब मुद्रा प्रवाहमा परिवर्तन हुन्छ, अनि यसको वितरणमा फरक पर्न सक्छ,’ पोजसारले एक रिपोर्टमा लेखेका छन्, ‘अवस्था अझै नाजुक हुँदै गए रसियाको विशाल फाइनान्सियल सरप्लस र यसको प्रयोग कहाँ गरिएको छ भन्ने कुराले विदेशी मुद्रा र अमेरिकी डलरमा प्रत्यक्ष प्रभाव देख्न गाह्रो छैन।’
रसियाले २०१८ मा सबै 'ट्रेजरी होल्डिङ'हरू बेचे पछिको अवस्थामा पनि रसियाको केन्द्रीय बैंक र निजी क्षेत्रसँग लगभग १ ट्रिलियन डलर तरल सम्पत्ति रहेको पोजसारले उल्लेख गरेका छन्। जसको मानिसहरुले अनुमान गरेभन्दा धेरै ठूलो हिस्सा अमेरिकी डलरमा राखिएको छ। रसियाले करिब २०० बिलियन डलर विदेशी मुद्रा विनियममा र थप १०० बिलियन डलर विदेशी बैंकहरूमा निक्षेपमा राखेको उनको अनुमान छ।
पोजसारका अनुसार 'फन्डिङ मार्केट'मा परिवर्तन ल्याउन ठूलो मात्राको सो सम्पत्ति पर्याप्त छ। बैंक अफ रसियाको यूएस डलर एक्सपोजर लगभग ५० प्रतिशत रहेको क्रेडिट सुइसको अनुमान छ। तर, उसले २० प्रतिशतको एक्सपोजर भएको रिपोर्ट गर्दै आएको छ।
रसियाले युक्रनेको पूर्वी क्षेत्रमा रहेको दुई विद्रोही क्षेत्रलाई 'स्वतन्त्र राज्य' को मान्यता दिएसँगै विश्व बजारमा त्यसको प्रभाव परेको छ। रसियाले युक्रेनमाथि आक्रमण गरिरहँदा पश्चिमा राष्ट्रहरुले रसियामाथि प्रतिबन्ध लगाउने क्रम बढ्दो छ।