PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओलीको प्रश्न : एमसीसी चाहियो भनेर चिठी लेख्‍ने झलनाथलाई किन ढुंगा हानिँदैन?



रिना थापा

ओलीको प्रश्न : एमसीसी चाहियो भनेर चिठी लेख्‍ने झलनाथलाई किन ढुंगा हानिँदैन?

पोखरा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) प्रक्रियामा लैजानेहरु नै सत्तामा बसेर त्यसको विरोधमा कार्यकर्तालाई सडकमा उतारेको आरोप लगाएका छन्। शुक्रवार पोखरा पुगेका अध्यक्ष ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीविरुद्ध कडा रोष प्रकट गरे।

सरकारमा बसेर दुवै दलले तमाशाको हद देखाएको भन्दै ओलीले सरकारमा आफैँ बसेर प्रहरीलाई ढुंगा हान्न लगाएको आरोप लगाए। 'तमाशाको पनि हद हुन्छ नि। सरकारमा आफैँ बस्‍ने अनि कार्यकर्तालाई ढुंगा हान्न पठाउने,' ओलीले भने, 'प्रहरी देख्‍नै हुन्न, ढुंगा हान्न लगाउँछन्। मान्छे देख्‍नै हुन्न ढुंगा हान्न लगाउँछन्।'

एमसीसी प्रक्रियामा  लैजानेलाई ढुंगा हान्न छाडेर माओवादी, एकीकृत समाजवादीका कार्यकर्ताले निर्दोषमाथि ढुंगामुडा गरेको ओलीको आरोप थियो।

'एमसीसी सहयोग नेपालमा ल्याइ पाउँ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर अमेरिकासँग निवेदन हाल्ने झलनाथ खनाल हिँड्दा ढुंगा हान्दैनन्। ताली बजाउँछन्। त्यही बाबुराम भट्टराईलाई ढुंगा हानिँदैन। नेपाली कांग्रेस एमसीसी पास गर्नुपर्छ भन्छ। ढुंगा हानिँदैन। विभिन्न कुरा गरिन्छ। टेवल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन। कृष्णबहादुर महरालाई ढुंगा हानिँदैन। प्रचण्डको पालामा अगाडि बढ्यो। प्रचण्ड शेरबहादुर देउवाको संयुक्त सरकारको बेला महराले टुंग्याउनुभयो। ज्ञानेन्द्र कार्कीले सम्झौता गर्नुभयो। सम्झौता गर्नेहरुलाई ढुंगा हानिँदैन,' अध्यक्ष ओलीले भने, 'म बाटोबाट हिँड्छु। ढुंगा हान्छन्। अनि थाह हुँदैन यो के भइरहेको छ भनेर। जे होस् हामी साना मसिना कुरामा अल्झिनेवाला छैनौ। हामी देश बनाउने कुरामा लाग्छौं।'

गठबन्धनविरुद्ध पोखे आक्रोश

पार्टी प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका ओलीले पाँच दलीय गठबन्धनविरुद्ध आक्रोशसमेत पोखे। उनले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै भने, 'पाउँला र खाउँला भनेर हैन देश बनाउने भनेर राजनीति गर्नुपर्छ।'

देश कसरी विकास गर्ने भन्नेबारे एमालेबाहेक कुनै पार्टीसँग भिजन नभएको दाबी ओलीको रह्यो।

'हाम्रो पार्टी विचारको हिसाबले देश कसरी बनाउने भन्ने विचार अरु पार्टीसँग छैन,'  ओलीको दाबी थियो, 'हामीले सरकार छाडेपछि विकासको कुरा सुन्नुभयो।'

एमालेको सरकार हटेपछि देशमा गठबन्धनको मात्र चर्चा हुने गरेको ओलीले बताए। उनले गठबन्धन कायम गर्नुपर्ने कारण भ्रष्टाचार पो हो कि भनी कटाक्षसमेत गरे।

'हामी सरकारबाट हटेपछि देशमा चर्चा के हुन्छ? गठबन्धन, गठबन्धन,  गठबन्धन टिक्छ, गठबन्धन छोड्छु, गठबन्धन टिक्दैन,' ओलीले भने, 'गठबन्धन कायम रहन्छ। अर्थोक जे भए पनि गठबन्धन कायम रहन्छ। गठबन्धन, गठबन्धन, गठबन्धन के का लागि? भ्रष्टाचारका लागि?'

विकासका लागि पैसा नभएको दाबी गर्दै ओलीले कुनै दातृ निकायले समेत अहिलेको सरकारलाई नपत्याएको तर्क गरे। 

'२४ लाख डोज खोप कहाँ हरायो? आज देशको अर्थतन्त्र कहाँ पुगेको छ? सरकारसँग पैसा छैन। हात थापेर हिँडेको छ। हात थाप्‍न गयो, त्यता ओठ लेप्राउँछन्,' उनले भने, 'कसैले पत्याउने स्थिति छैन। शान्ति सुरक्षा छैन।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell