PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ए डिभिजन लिग : आजका दुवै खेल बराबरीमा टुंगियो



पहिलोपोस्ट

ए डिभिजन लिग : आजका दुवै खेल बराबरीमा टुंगियो
Photo : ANFA

काठमाडौं : शहीद स्माकरक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र संकटा क्लबबिचको खेल बराबरीमा टुंगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आफ्नो अन्तिम खेलमा जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा संकटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए।

खेलको १४औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै खेलको ६१औँ मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। संकटाले लिगमा १३ खेलबाट ३ जीत, ७ बराबरी र ३ हारसहित १६ अंक जोडेको छ। यता जावलाखेलले १३ खेलबाट ३ जित, ५ बराबरी र ५ हारसहित १४ अंक जेको छ।

थ्री स्टार भर्सेस ब्रिगेड ब्वाइज

त्यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आजै भएको अर्को खेलमा थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबबिचको खेल पनि १–१ गोलको बराबरीमा सकिएको छ।

खेलमा पहिलो अग्रता भने ब्रिगेड ब्वाइजले लिएको थियो। खेलको ५६औँ मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई पहिलो अग्रता दिलाएका थिए। त्यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा थ्रीस्टारका डोना थापाले गोल गरेपछि खेल एक-एक गोलको बराबरीमा सकिएको थियो।

यस बराबरीसँगै थ्रीस्टारले १३ खेल खेल्दै १९ अंक जोडेको छ। ब्रिगेड ब्वाइजले १३ खेलमा ८ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell