PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पल शाह प्रकरणमा प्रहरी रणनीति : पहिले पक्राउ अनि परिस्थितिजन्य प्रमाणको खोजी



सविन ढकाल

पल शाह प्रकरणमा प्रहरी रणनीति : पहिले पक्राउ अनि परिस्थितिजन्य प्रमाणको खोजी

काठमाडौं : सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्‍न नेपालको कानुनले वर्जित गरेको छ। त्यसमाथि इच्छाविपरीत यस्ता गतिविधि जघन्य अपराध नै हो। कम उमेरकी किशोरीसँग यस्तै सम्बन्धमा मुछिएका कारण पूर्ण विक्रम शाह (पल शाह) चर्चामा मात्रै छैनन्, फरार अभियुक्तको सूचीमा समेत समेटिएका छन्।

एक बालिकालाई 'प्रेम'को नाममा यस्तै गतिविधिको उजुरी परेपछि कलाकार शाह फरार छन्। जिल्ला प्रहरी कार्यालय तनहुँमा उनीविरुद्ध जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेको छ। बुधवार शाहमाथि उजुरी दर्ता भएपछि प्रहरीले खोजे पनि फेला पारिसकेको छैन। जिल्ला प्रहरी कार्यालय तनहुँले महानगरीय प्रहरी परिसरलाई कलाकार शाहलाई पक्राउ गर्न पत्र जारी गरिसकेको छ। शाह अहिले काठमाडौंमा नै भएकाले तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पक्राउ गरेर पठाउन भनेको हो।

उजुरी दर्ता गर्नुभन्दा केही महिना अगाडि देखि नै यो प्रकरणले आकार लिइसकेको थियो। तर, घटनामा संलग्न दुवै पक्षले यसबारे मौनता साँधिरहेका थिए। पल शाह भने प्रहरीकहाँ आफूविरुद्ध उजुरी पर्नेबारे जानकार थिए त्यसैले पहिले देखि नै वकिलसँग यसलाई सुल्ट्याउन छलफलमा सक्रिय रहँदै आएका थिए। पीडित किशोरीले एक महिना अघि नै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गर्ने तयारी गरेकी थिइन्।

कलाकार शाहविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्रन प्रहरी असफल छ। यता प्रहरीको फरार सूचीमा रहेका शाह भने आफ्ना विरुद्धमा आएका कुराको खण्डन गर्दै फेसबुकमा सक्रिय देखिएका थिए।

'हामीले पक्राउ गर्ने पत्राचार गरिसकेका छौँ। अहिले घटना अनुसन्धानको क्रममा नै रहेको छ,' जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले भने।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १८ वर्ष नपुगेका बालिकालाई सहमतिमा पनि यौन सम्पर्क गर्न मिल्दैन। यसरी यौन क्रियाकलाप गरेको देखिएमा जवर्जस्ती करणी मानिने व्यवस्था छ। दफा २१९ (२) मा भनिएको छ, 'कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिन्छ।'

कलाकार शाहले पटकपटक ती किशोरीसँग सम्बन्ध राखेको उजुरीमा उल्लेख गरिएको छ - मिति सहित। सेलिब्रिटी भएकाले अहिले सामाजिक सञ्जालमा पलका पक्षमा बोल्नेहरु उत्तिकै छन्। तर, कानुनले नाबालिकासँग सहमतिमा पनि यौन क्रियाकला गर्नु अपराध मानेको छ। कलाकार शाहमाथि लागेको आरोप प्रमाणित भएमा कानुनी सजायको भागिदारी निश्चित छ।

'यस्तो केसमा कुनै एक्स्क्युज भन्ने हुँदैन। सहमतिमा भए पनि यसलाई 'लिगल रेप' मानिन्छ,' वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले भने।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। आरोपीलाई नियन्त्रणमा लिएपछि प्रहरीको अनुसन्धान थप अगाडि बढ्ने छ। शाहको बयान पनि प्रहरीको अनुसन्धानको एउटा कडी हुनेछ। घटना केही पुरानो भएकाले प्रहरीले जवर्जस्ती करणी भएको प्रमाण पीडितको फिजिकल रिपोर्टबाट प्राप्त गर्न कठिन देखिन्छ। त्यसैले परिस्थितिजन्य प्रमाण नै अनुसन्धानको मुख्य आधार देखिएको छ। घटना भएको स्थान र उपस्थिति, अन्य मानिसको बयान लगायतले घटनालाई थप पुष्टि गर्नेछ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा पल र किशोरीबिच यौन दुर्व्यवहार भएको पुष्टि गर्छ। तर, त्यसमा सुनिने स्वर पलको हो या होइन पुष्टि भइसकेको छैन।

यदि जाहेरीमा उल्लेख भएअनुसार घटना भएको पुष्टि भएमा १० देखि १२ वर्ष कैद सजायको सम्भावना रहन्छ। यता पलले पनि आफू दोषी ठहरिए सजाय भोग्न तयार भएको बताएका छन्। आफु माथि षड्यन्त्र भएको दाबी गर्दै आएका छन्।

पल शाह छोटो समयमा नै चर्चा आएका कलाकार हुन्। पल शाह अभिनीत चलचित्र म यस्तो गीत गाउँछु २ अहिले प्रदर्शनमा आएको छ। फिल्मको प्रिमियम सोमा पल शाह पुगेनन्, प्रहरी मुभ भइसकेको थाहा पाएर। अहिले प्रहरीले उनको खोजी गरिरहेको छ। तर, उनी भएको स्थान पत्ता नलागेकाले पक्राउ गर्न नसकेको प्रहरीको जवाफ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell