PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

देउवा फेरि ओलीको दैलोमा, एमसीसीलाई लिएर सत्ता-प्रतिपक्ष एक हुने कति छ सम्भावना?



पहिलोपोस्ट

देउवा फेरि ओलीको दैलोमा, एमसीसीलाई लिएर सत्ता-प्रतिपक्ष एक हुने कति छ सम्भावना?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयलाई लिएर सत्ता गठबन्धनमा चर्को मतभेद देखिएपछि लगातार प्रमुख प्रतिपक्षी दलसँग संवादलाई प्राथमिकता दिइरहेका देउवा ओलीलाई भेट्न पुगेका हुन्।

आज नेकपा एमालेको पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर भक्तपुर फर्किएपछि ओलीलाई भेट्न  देउवा बालकोट पुगेका हुन्। 'भर्खरै प्रधानमन्त्री सहितको टोली आइपुग्नु भएको छ,' ओलीको सचिवालयका एक सदस्यले भने, 'छलफल एक्लै एक्लै होइन, सामुहिक रुपमा हुँदैछ।'

देउवासँगै छलफलमा कांग्रस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उपस्थित छन्। नेकपा एमालेका अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, उप महासचिव प्रदीप ज्ञवाली पनि छलफलमा छन्।

सत्तारुढ दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसीमा प्रधानमन्त्रीलाई साथ नदिएपछि सत्ता गठबन्धनमा चर्को मतभेद देखिएको छ। प्रधानमन्त्री देउवा कसैगरी पनि एमसीसी पास गर्ने रणनीतिमा अगाडि बढेका छन्। उनलाई रोक्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सक्रिय छन्। प्रतिनिधिसभामा एमसीसी सम्बन्धी प्रस्ताव टेवल गर्दादेखि नै सतहमा देखिएको विवाद यसलाई पास गर्ने 'डेडलाइन' नजिकिँदै गर्दा थप पेचिलो बनेको छ।

यसअघि हिजोमात्र प्रधानमन्त्री सहित नेपाली कांग्रेस र ओली सहित नेकपा एमालेका नेताहरुबिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। एमाले अध्यक्ष ओली एमसीसीकै आडमा माधवकुमार नेपाल र प्रचण्डलाई तह लगाउने 'मुड'मा छन्। एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ। एकीकृत समाजवादीका १४ जना सांसदको पद खोसिनुपर्ने नभए सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने माग राख्दै आएको छ।

यसैबिच प्रचण्ड र केपी ओलीबिच पनि हिजो छलफल भएको थियो। तर, उक्त भेटले कुनै पनि नतिजा निकाल्न सकेन। आज ओलीलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले माधवकुमार नेपाल र प्रचण्डसँग बेग्लाबेग्लै छलफल गरेका थिए। सत्तारुढ गठबन्धनको एकमत नहुँदा त्यसलाई केपी शर्मा ओलीले थप प्रभावित पार्ने प्रयास गरिरहेका छन्। उनी चाहन्छन् - गठबन्धन टुटोस्। एमसीसीमा नेकपा एमालेले मौनता साँध्दै आएको छ। त्यसैले एमसीसीको पक्षमा देउवा र ओली एक ठाउँमा उभिँदा गठबन्धन र मुलुकको राजनीतिक कोर्स नै नयाँ बाटोतिर जाने सम्भावना रहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell