PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'रियल'मा फरार पल 'रिल'मा सार्वजनिक, हलवाला भन्छन्- 'दर्शकको साथ'



लक्ष्मी बलायर

'रियल'मा फरार पल 'रिल'मा सार्वजनिक, हलवाला भन्छन्- 'दर्शकको साथ'

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको 'म यस्तो गीत गाउँछु २' ले हलमा पहिलो दिन नै ५ शो पाएको छ।

शुक्रबार योसँगै तीन विदेशी फिल्मले पनि नेपाली हलमा स्थान पाएका थिए। आलिया भट्ट अभिनित बलिउड फिल्म 'गंगुबाई काठियावाडी, अजित कुमार अभिनित साउथ फिल्म 'बलिमाई' रटम हल्यान्ड अभिनित हलिउड फिल्म ‘अनचार्टेड’ रिलिज भएका थिए।

हलवालाहरुले 'म यस्तो गीत गाउँछु २' ले दर्शकबाट राम्रो साथ पाएको बताएका छन्। चाबहिलमा रहेको एफक्युब सिनेमामा पहिलो दिन दर्शकको उपस्थिति बाक्लो रहेको हल व्यवस्थापक रामहरि कोइरालाले जानकारी दिए।

गंगुबाई काठियावाडीले ५ शो र साउथ तथा हलिउडले दुई शो पाउँदा नेपाली फिल्मका दर्शकको संख्या बढी रहेको उनले दाबी गरे। 'विदेशीभन्दा नेपाली फिल्ममा नै दर्शकको संख्या राम्रो छ। दर्शकले नेपाली फिल्म नै हेर्न खोजिरहेका छन्। प्रत्येक शोमा ७० प्रतिशत दर्शकहरुको उपस्थिति थियो,' उनले भने, 'गंगुबाईमा दर्शकहरुको साथ राम्रै भए पनि अरुमा भने न्यून नै छ।'

कमलपोखरीस्थित बिग मुभिजमा पनि नेपाली फिल्ममै दर्शकको संख्या उत्साहजनक रहेको म्यानेजर दिपेश शर्माले जानकारी दिए। शुक्रवार बिग मुभिजले नेपाली फिल्मलाई ४ शो दिएको थियो।

कन्टेन्ट राम्रो हुँदा दर्शकले नेपाली फिल्म पनि मन पराउने समेत उनले बताए। 'नेपाली फिल्ममा दर्शकको संख्या राम्रो छ। नेपाली फिल्ममा सकरात्मक प्रतिक्रिया आएका कारण आज एक शो बढाइएको छ,' उनले भने, 'नेपाली फिल्ममा ७० देखि ८० प्रतिशत दर्शक आएका छन्। गंगुबाईलाई पनि दर्शकको साथ छ। तर अन्य फिल्ममा भने दर्शकको संख्या कम नै छ।' 

कमलादीमा रहेको क्युज सिनेमाजमा भने पहिलो दिन नेपाली फिल्मभन्दा गंगुबाईमा दर्शकको संख्या बढी थियो। 'म यस्तो गीत गाउँछु २' र 'गंगुबाई' ले ४/४ शो पाउँदा अन्यले भने १/१ शो पाए।

हिन्दी फिल्ममा दर्शक बढी भए पनि सिनेमा हल लयमा आइरहेको क्युजसिनेमाका इञ्चार्ज अभिषेक थपलियाले बताए। 'नेपालीभन्दा गंगुबाईमा दर्शकको संख्या बढी छ। तर पनि नेपालीमा निराशाजनक भने अवस्था छैन। नेपाली फिल्ममा राम्रो प्रतिक्रिया आए आइतबारदेखि संख्या राम्रै हुने आश छ,' उनले भने।

सुन्धारास्थित सिभिल मलको 'क्युएफएक्स सिनेमा' मा पनि पहिलो दिन दर्शकको संख्या उत्साहजनक रहेको म्यानेजर सुशील मानन्धरले बताए। 'नेपाली फिल्मलाई तीन शो दिइएको थियो। दिउँसो र बेलुकाको शो हाउसफुल नै भयो,' उनले भने, 'आज पनि शो बढाइएको छ। नेपाली फिल्मलाई दर्शकहरुको राम्रो साथ छ। साथै गंगुबाईमा पनि दर्शकको संख्या ठिकै छ।'

सुन्धाराकै सीटीसी मलमा रहेको 'सीडीसी सिनेमाज' मा दर्शकको माहोल बढेको छ। नेपाली फिल्मलाई दर्शकहरुले मन पराएको हल व्यवस्थापक जीवन शाक्यले बताए। 'म यस्तो गीत गाउँछु २' लाई २ वटा शो दिइएको थियो। जसमा दर्शकको उपस्थिति राम्रो छ,' उनले भने, '५० प्रतिशत दर्शककको उपस्थिति रह्यो।'

'म यस्तो गीत गाउँछु २' मा पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको छ।

फिल्म रिलिज हुने तरखरमा रहेका बेला मुख्य अभिनेता पल नाबालिकामाथि जबरजस्ती करणी आरोपमा मुछिए। यही कारण फिल्मले दर्शकको साथ पाउँदैन भन्ने डर रहे पनि दर्शकको उपस्थिति उत्साहजनक रहेको हलवाला बताउँछन्। हलमा पल सार्वजनिक भए पनि तीन दिनयता उनी प्रहरीको फरार सूचीमै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell