PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ब्लगको आशय नै नबुझी पत्रकार श्रेष्ठलाई प्रहरीले धम्की दिएकोमा महासंघको आपत्ति : अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप



पहिलोपोस्ट

ब्लगको आशय नै नबुझी पत्रकार श्रेष्ठलाई प्रहरीले धम्की दिएकोमा महासंघको आपत्ति : अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा युट्युव लगायत सामाजिक सञ्जालमा आएका 'फेक न्यूज' को 'फ्याक्ट चेक' गरेको आधारमा प्रहरीले माइसंसार डट कममा ब्लग लेख्दै आएका पत्रकार उमेश श्रेष्ठलाई कारबाही गर्ने धम्की दिएकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

पहिलोपोस्टका पूर्व सम्पादक श्रेष्ठलाई फ्याक्ट चेक गरेको आधारमा अनावश्यक दु:ख तथा थुनामा राख्ने धम्की दिएको भन्दै महासंघले शनिवार विज्ञप्ती जारी गर्दै घटनाप्रति ध्यानाकर्ण गराएको छ।

केही दिनअघि श्रेष्ठले माइसंसार डटकम ब्लगमा 'एमसीसीको बहानामा मनमा लागेका कुरालाई ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरु' शीर्षकमा ब्लग लेखेका थिए। त्यही ब्लग लेखेको आधारमा नै साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दा लगाउने धम्की दिएको श्रेष्ठले ब्लग मार्फत् जानकारी दिएका थिए। 

प्रहरीलाई सहयोग पुग्ने आशयमा लेखिएको उक्त ब्लगको भित्री कुरो नबुझी ब्युरोका जिम्मेवार अधिकारीबाट पत्रकारलाई स्पष्टीकरणको मौकासमेत नदिई धम्कयाउने कार्य गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ। महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र आगामी दिनमा यस्ता विषयमा गम्भीर भई यस किसिमका घटना नदोहोर्‍याउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ।

साइबर ब्युरोमा बोलाएर केरकार गरेपछि श्रेष्ठले ब्लगको आशय बुझ्न प्रहरीलाई भनेका थिए। तर, उल्टै प्रहरीले 'थुन्ने' सम्मको धम्की दिएका थिए।श्रेष्ठले ब्लगमार्फत् भनेका छन्, 'मैले पढ्नु न त्यहाँ के लेखेको छ, यस्तो यस्तो फेक न्युज आइरहेको छ भनेर जानकारी दिन लेखेको हुँ भनेर बुझाउन खोज्छु, बुझ्दै बुझेनन्। डिएसपी लेभलको मान्छेले कमसेकम कुरा के हो, विषय के हो, बुझ्नु पर्दैन ? नारामा मुस्कान सहितको सेवा व्यवहारमा कुरै नबुझी थर्कान कि थर्कानको ‘सेवा?’

सेन्टर फर मिडिया रिसर्च नेपाल र माइसंसारको सहकार्यमा सञ्चालित नेपाल फ्याक्ट चेकका सम्पादक समेत रहेका श्रेष्ठले नेपाली संचार माध्यममा देखिएका मिथ्या समाचारबारे अनुसन्धान गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell