
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा अहिले सहभागी नरहेकोले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा अहिले नै भन्न नसकिने बताएका छन्।
प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन ओलीले भने, ‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौ’, उनले भने, ‘संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने? संसद्मा हामी सहभागी नभएपछि एमसिसी पास गर्ने कसरी र फेल गराउने कसरी?’
उनले देश र जनताको हितभन्दा आफ्नो पार्टीबाहिर नजाने समेत बताए। ‘एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्छ,’ उनले भने।
उनले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताए। सर्वोच्च अदालत अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम कार्य सर्वोच्चले नगरेको उनको तर्क थियो।
‘सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ ? हाम्रो विधि कहाँ पुग्छ ?’, उनले प्रश्न गरे।
ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई लगाइएको महाअभियोग पारित गर्न नल्याइएको दाबी समेत गरेका छन्।
‘राणालाई लगाएको महाअभियोग संसद्मा निर्णयार्थ प्रस्तुत हुने छैन’, उनले भने, ‘महाअभियोग निर्णायार्थ प्रस्तुत गर्न ल्याएको होइन।’