PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रुस - युक्रेन युद्धको असर नेपालसम्मै : महँगी कसरी बढ्दैछ?



अनन्तराज न्यौपाने

रुस - युक्रेन युद्धको असर नेपालसम्मै : महँगी कसरी बढ्दैछ?

 

विराटनगर : रुस र युक्रेनको युद्ध सुरु भएपछि कोइलाको मूल्यमा एक हप्तामै प्रति टन ३५ डलरले वृद्धि भएको छ। युद्धका कारण पेट्रोलियम पदार्थ, मेटल, प्लास्टिक दाना, क्रुड भेजिटेबल आयल लगायतका वस्तुसँगसँगै कोइलाको मूल्य पनि आकासिएको हो।

कोलकाताका कोइला व्यवसायी राघव चक्रवर्तीका अनुसार सिमेन्ट उद्योगमा प्रयोग गरिने दक्षिण अफ्रिकाको कोइलाको मूल्य एक हप्ताअघि २ सय डलर थियो, अहिले २३५ पुगेको छ। उक्त मूल्य सीआईएफ कोलकातासम्मको हो।

त्यस्तै, सिमेन्ट उद्योगमै प्रयोग गरिने अस्ट्रेलियन कोइलाको मूल्य सात दिनअघि १८५ डलर थियो। अहिले २१० पुगेको छ। यो मूल्य पनि सीआईएफ कोलकातासँग सम्बन्धित छ। विशेषतः इँटा उद्योगमा प्रयोग गरिने कोइलाको मूल्य पनि वृद्धि भएको छ। अमेरिकी कोइला सीआईएफ कोलकाताको २५० डलर पुगेको छ। सात दिनअघि यसको मूल्य २२० डलर थियो। 

इँटा उद्योगमै प्रयोग गरिने इन्डोनेसियन कोइला पनि प्रतिटन १९५ बाट २०० डलर पुगेको छ। यो मूल्य पनि सीआईएफ कोलकाताकै हो। अमेरिका कोइलाको निर्यातमा अनुदार भएपछि त्यहाँबाट पैठारी गर्न गाह्रो भइरहेको चक्रवर्तीले बताए। त्यस्तै नेपालका धेरै इटा उद्योग बन्द भएको र चलेका उद्योगले कोइलाको स्टक राखिसकेको हुँदा नेपालमा अमेरिकी कोइलाको खासै माग नभएको चक्रवर्तीको भनाइ छ।

उनले अमेरिकी कोइलाको कसैले पैठारी गर्न चाहेर पनि अहिले हुन नसक्ने दाबी गरे। त्यस्तै, भारतीय कोइला पनि एक महिनामा टनको भारु ३ हजारले वृद्धि भएको छ। एक महिनाअघि भारतीय कोइला सीआईएफ रक्सौलको भारु १५ हजार थियो। अहिले भारु १८ हजार पुगिसकेको छ।
तर भारतले पनि नेपालतर्फ कोइला पठाउन कडाइ गरेको छ। जोगबनी र रक्सौलस्थित भन्सारबाट ३ महिनायता बारम्बार कोइलाका ट्रकहरू फर्काइएको चक्रवर्तीको भनाइ छ। 

उनले नेपालका कोइलाका पैठारीकर्ता र कोइलामा आधारित  उद्योगले भारतका आपूर्तिकर्ता र मध्यस्थकर्तालाई समयमा भुक्तानी गर्न नसकेकोे स्पष्ट पारे।

‘नेपाली उद्योग वा व्यवसायीका लागि कोइला मगाएर नेपाल पठाउन अब डर लागिरहेको छ,’ व्यवसायी राघवले भने, ‘नेपालका व्यवसायीले ठूलो रकम बाँकी राखेका छन्। ताकेता गर्दागर्दा थाक्नुपरेको अवस्था छ। त्यसैले हामी नेपाल आपूर्ति गर्न त्यति उत्साही छैनौँ। नेपाली व्यवसायी सित अब नगदमा मात्र काम गर्ने भन्ने सल्लाह गर्दैछौं।’ 

कोइलाको मूल्यवृद्धिले नेपालका क्लिङ्कर बेस्ड सिमेन्ट उद्योगलाई असर परेको छ। मारुती सिमेन्ट उद्योगका सञ्चालक अनुज राठीले डिजलको मूल्यवृद्धिले माइनिङ (चूनढुङ्गाको उत्खनन्)को र कोइलाको मूल्यवृद्धिले क्लिङ्कर र सिमेन्टको उत्पादनको लागत वृद्धि भएको बताए। उद्योगी राठीका अनुसार अर्कातिर बजारमा सिमेन्टको माग र बिक्रीमा मन्दी पनि छ।

‘सरकारी खर्च छैन। सरकारी आयोजनाको निर्माण घटेको छ । प्रोजेक्ट कन्स्ट्रक्सनमा व्यापक मन्दी छ। अर्कातिर बैङ्क ऋणमा कडाइ गरिएको छ। यसले सर्वसाधारणको गृहनिर्माणमा असर परेको छ। सर्वसाधारणको घर बनाउने ट्रेन्डमा कमी आएको छ,' उनले भने, 'यसका कारण सिमेन्टको उत्पादन, बिक्री र मूल्य सबै घटाउन हामी बाध्य छौँ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell