PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फरार भएसँगै कसरी फस्दैछन् 'अभिनेता'बाट 'अभियुक्त' भएका पूर्ण विक्रम शाह उर्फ 'पल शाह'?



सविन ढकाल

फरार भएसँगै कसरी फस्दैछन् 'अभिनेता'बाट 'अभियुक्त' भएका पूर्ण विक्रम शाह उर्फ 'पल शाह'?
फाइल फोटो।

काठमाडौं : 'डनका इन्तजार एघार मुलुक की पुलिस कर रही है। डनको पकड्ना मुस्किल हि नही, ना मुमकिन हे।'

हिन्दी फिल्म 'डन' को यो डाइलग बहुचर्चित छ। फिल्मका प्लटमा हुने डन, प्रहरी, अपराधी र अभियुक्तको लुकामारी अहिले नेपालमा भने रिलमा नभइ रियल लाइफमै चलिरहेको छ। प्रहरी खोजीमा लागिरहेछ - अभियुक्त भागिरहेछ।

चार दिनदेखि प्रहरीले 'रिल'का 'हिरो' पल शाहलाई रियल लाइफमा खोजी गरिरहेको छ। पूर्णविक्रम शाह (पल) लाई प्रहरीले खोज्न थालेको चार दिन भइसक्यो, अझै पत्ता लगाउन सकेको छैन - कहाँ छन् उनी। बुधवार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो। काठमाडौंमा बस्दै आएका शाहलाई उजुरी दर्ता भएपछि पक्राउ गर्न तनहुँ प्रहरीले पत्राचार समेत गर्‍यो।

जिल्ला अदालतबाट पक्राउ पुर्जी पाएपछि प्रहरी प्रधान कार्यालय नक्सालले पनि पक्राउ गर्न आफ्ना मातहतका कार्यालयमा सर्कुलर जारी गरेको छ। तर, उनी पक्राउ परेका छैनन्। शाहले बोक्ने मोबाइलको अन्तिम लोकेसनका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्यो तर सफल भएन। उनी अभिनित चलचित्र अहिले सिनेमा घरमा प्रदर्शन भइरहेको छ। तर, ठूलो पर्दाका यी 'हिरो' रियल लाइफमा 'भिलेन' नै सावित भइरहेका छन् - आफ्नै हर्कतले।

प्रहरीले शाहसँग सम्पर्क भएको हुनसक्ने आशङ्कामा शनिवार उनी अभिनिति चलचित्रका निर्देशक सुदर्शन थापालाई समेत सोधपुछ गरेको छ। तर, शाह कहाँ छन् खुल्न सकेको छैन। त्यसैले फिल्म 'डन'को डाइलग मिल्दोजुल्दो देखिएको छ - थोरै समयका लागि भए पनि।

शाहमाथि १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जवर्जस्ती गरेको आरोप छ। प्रहरीको अनुसन्धान र अदालतमा उनको अपराध पुष्टि भए १० देखि १२ वर्षसम्म जेल सजाय हुनेछ उनलाई। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १८ वर्ष नपुगेका बालिकालाई सहमतिमा पनि यौन सम्पर्क गर्न मिल्दैन। यसरी यौन क्रियाकलाप गरेको देखिएमा जवर्जस्ती करणी मानिने व्यवस्था छ।

पल प्रहरीको आँखाबाट कहिलेसम्म लुक्न सक्छन्? फिल्मको कथामा निर्देशकले जसरी पनि हिरोलाई जिताउन सक्छन्। तर, रियल जीवनमा उनलाई बचाउन सक्ने त्यस्तो कोही 'निर्देशक' सतहमा देखिएका छैनन्। उजुरीको जानकारीपछि प्रहरीका उपस्थित भएर आफूलाई 'निर्दोष' सावित गर्नुको अलावा प्रहरीको 'फरार' सूचीमा पुग्नले उनको 'कच्चापन' स्थापित भइसकेको छ जसले उनलाई थप संकटतिर धकेल्दैछ।

फेसबुकमा स्ट्याटस राख्दै आफूमाथि लगाएको आरोप सत्य नभएको दाबी गरिरहेका छन् उनी। त्यसो हो भने, पल किन प्रहरीबाट भागिरहेका छन् त?

बुधवार बिहानै पलले जानकारी पाएका थिए - उजुरी दर्ता हुन लागेको। त्यसपछि आफ्ना वकिलसँग सम्पर्कमा पुगेका थिए उनी। उजुरीको जवाफ दिन प्रहरीमा जान सहमत पनि भएका थिए पल। तर, एकाएक उनी सम्पर्क विहीन भए। यतिसम्म कि देशभरको प्रहरीले नै अहिले खोजी गरिरहनु परेको छ उनको। यसरी अनुसन्धान र प्रहरीबाट कहिलेसम्म भाग्न सक्छन्? भागेर पललाई फाइदा के छ?

उजुरी दर्ता गर्नेबित्तिकै कसैलाई पक्राउ गरेर नै अनुसन्धान गर्नुपर्छ भन्ने हुँदैन। यदि अभियुक्त भाग्ने वा अनुसन्धानमा असहयोग गर्ने देखिएमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्छ। नियन्त्रणमा लिएर अनुसन्धान गरेको खण्डमा प्रहरीले सरकारी वकिल मार्फत् २५ दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ।

शुक्रवारबाट उनी अभिनित फिल्म प्रदर्शनमा आएको छ। फिल्मलाई हलमा टिकाउन कुनै स्टन्ट गरेका हुन् त? कारण जे सुकै होस्, यसरी भाग्नुले उनलाई निर्दोष रहेको कुरा पुष्टि गर्ने आधार थप कमजोर बनाएको छ। उजुरी वा पक्राउपुर्जी जारी भएपछि आफैँ प्रहरीको सम्पर्कमा जाने र अनुसन्धानमा सघाउने हो भने सजाय कटौतीको आधार बन्न सक्थ्यो जुन उनले गुमाउँदै गएका छन्।

मुलुकी अपराध संहिता २०७४ को दफा २१६ मा आत्मसमर्पण गरेमा सजायँ कम हुने व्यवस्था छ। 'कसुर गर्ने व्यक्तिले कसुर गर्दागर्दैको बखत सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेमा वा अन्य कसुर वा सो कसुर गर्ने गिरोहका सदस्यलाई पक्राउ गर्न सहयोग पुर्‍याएमा अवस्था हेरी अदालतले निजलाई साजय कम गर्न सक्नेछ,' अपराध संहितामा भनिएको छ।

'कानुनी रूपमा कानुन कार्यान्वयन गर्ने निकायलाई असहयोग गर्न पाइँदैन। अनुसन्धानमा असहयोग गरेको भन्ने भए थप केही सजाय हुनसक्छ,' अधिवक्ता बाबुराम अर्यालले भने।

प्रहरीले शाहलाई पक्राउ गर्न अहिले उनी निकट व्यक्तिसँग सोधपुछ गरिरहेको छ। पल अभिनीत चलचित्र 'म यस्तो गीत गाउँछु २' का निर्देशक सुदर्शन थापासँग पनि प्रहरीले सोधपुछ गरेको छ। शनिवार बिहान थापालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो। यदि थापासँग पलको सम्पर्क र प्रहरीलाई जानकारी नदिएको प्रमाणित भए उनी पनि सजायको भागिदार हुनेछन्। मुलुकी अपराध संहिता २०७४ मा भाग्न सघाउने र आश्रय दिने दुवैलाई कारबाही हुने व्यवस्था छ।

पल जति भाग्छन्, उनलाई लुकाउन जोजो सक्रिय हुन्छन्, ती सबै कानुनी कारबाहीमा पर्ने देखिन्छ। अब पललाई प्रहरीले हिरासतबाहिर राखेर अनुसन्धान गर्ने बाटो बन्द भएको छ। किनकि उनी अदालतबाट पक्राउपुर्जी जारी भइसकेपछि फरार भइसकेका छन्। र, प्रहरीको ठूलो साधन स्रोत उनको खोजीका लागि परिचालन गर्न परिसकेको छ।

'पक्राउ पुर्जी जारी भइसकेको छ। अब पक्राउ गरेर थप अनुसन्धान हुन्छ,’ जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले भने।

कुनै पनि कलाकार दर्शकका लागि आदर्शको पात्र हुने गर्छ। जघन्य अपराधको केस फायल भइसकेपछि कोही त्यसको प्रतिरोध नगरी भाग्छ भने त्यसले उसको अपराधलाई पुष्टि गर्न नै सघाउँछ - चाहे त्यो दर्शकको नजरमा जतिसुकै आदर्शवान कलाकार किन नहोस्। त्यसले भन्न सकिन्छ - पलले पल पलमा निर्दोष सावित गराउने अवसर गुमाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell