PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सत्यवती एकेडेमीलाई धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको उपाधि



पहिलोपोस्ट

सत्यवती एकेडेमीलाई धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको उपाधि

कैलालीः विद्याभूषण पब्लिक स्कुल गेटा कैलालीलाई १६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले छैटौँ संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

उपाधिसहित सत्यवती एकेडेमीले एक लाख ५० हजार रुपैयाँ तथा उपविजेता विद्याभूषणले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो।

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा विद्याभूषणले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा विद्याभूषणका नुरेन विष्टले सर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। सत्यवती एकेडेमीको बलिङमा युवराज खत्री र नीरज भट्टले समान तीन/तीन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई/दुई विकेट लिए।

टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २५० रन बनाएको थियो।

सत्यवतीको ब्याटिङमा अन्डर–१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए। उनले ४५ बलमा ३ चौका र ११ छक्का प्रहार गरे। यस्तै खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र ३ छक्का प्रहार गरे। आदिल अन्सारीले १२ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले ५ बलमा ३ छक्का मद्दतले १९ रन योगदान दिए।

सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिङ साझेदारी गरे जुन प्रतियोगिताकै उच्च साझेदारी हो। चौथो विकेटको लागि आदिल अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे।

विद्याभूषणका बलर प्रदीप चन्दले तीन विकेट तथा वीरेन्द्र नाथले एक विकेट लिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सत्यवतीका सन्तोष कार्की चुनिए। उनले २० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृष्ट ब्याट्सम्यान विद्याभूषणका वीरेन्द्र नाथ तथा उत्कृष्ट बलर हिमालयन व्हाइट हाउसका दिपक बोहरा घोषित भए। उनीहरुले जनही दश हजार रुपैयाँ प्राप्त गरे।

यस्तै उदयमान खेलाडी सत्यवतीका युवराज खत्री चुनिए। उनले पनि १० हजार रुपैयाँ प्राप्त गरे।

फाल्गुन २ गतेदेखि सुरु भएको प्रतियोगितामा दश टोलीको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell