
काठमाडौं : सत्तारुढ दलहरु मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गराउने गृहकार्यमा जुटेका छन्।
एमसीसीको विपक्षमा रहँदै आएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मध्यमार्गी प्रस्तावमार्फत एमसीसी पास गर्न र गठबन्धन जोगाउन सहमत देखिएको नेताहरुको भनाइ छ।
एमसीसीसँगै पूरक प्रस्तावको रुपमा 'इन्टरप्रिटेसन डिक्लेरेसन' अर्थात् व्याख्यात्मक घोषणामार्फत एमसीसीलाई अनुमोदन गर्न सकिनेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल तयार भएका हुन्।
'एमसीसीबारे छलफल गर्न पार्टीको बैठक बस्छ। सबै खालका विकल्पमाथि छलफल भएको छ,' एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले भने। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट आधिकारिक धारणा खोजेपछि दुवै पार्टीले आइतबार बिहान (आज) लागि बैठक बोलाएका छन्।
एकीकृत समाजवादीले ११ बजेका लागि स्थायी कमिटीको बैठक बोलाएको छ। यस्तै, माओवादी केन्द्रले पनि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि स्थायी कमिटीको बैठक बोलाएको छ।
एमसीसी पारित गराउनका लागि गठबन्धनमा पुरक प्रस्तावका रुपमा 'व्याख्यात्मक घोषणा' अघि सारिएको हो। जसमा एमसीसी सैन्य रणनीति होइन, नेपालको कानुनको आधारमा खारेज गर्न सकिने लगायतका बुँदा राखिने नेताहरुले बताएका छन्। तर, कस्तो हुने भन्ने जिम्मा सत्ता घटक दलहरुले पार्टी निकटका कानुन व्यवसायीलाई दिएका छन्।
प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न सहयोग नगरे अहिलेको सत्ता गठबन्धन टुट्ने बताएपछि प्रचण्ड-नेपाल पारित गराउन लचक बनेका हुन्। देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर एमसीसी अघि बढाउने कसरत थालेपछि गठबन्धनका अरु नेता झस्किएका थिए। यद्यपि एमालेले पुरानै अडान दोहोर्याएपछि सहमति भने हुन सकेन।
सहमतिका लागि पटकपटक देउवा-नेपालबीच वार्ता भएको थियो। शनिबार पनि ओली निवासमा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भयो तर सहमति जुटेन।
यता बालुवाटारमा भएको गठबन्धनका नेताबीचको छलफल भने पुरक प्रस्तावमा सहमतिमा पुगेको नेताहरुले बताएका छन्। धनगढीबाट माधव नेपाल फर्केर देउवालाई भेटेलगतै पुरक प्रस्तावले गति पाएको नेपालको सचिवालयका एक सदस्यले बताए। 'धनगढीबाट फर्केर प्रधानमन्त्रीलाई भेटेपछि परिस्थिति केही बदलिएको हो। त्यसअघि गठबन्धन फुट्ने अवस्थामा पुगेको थियो,' उनले भने।