PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

मकवानपुर कांग्रेसमा रोचक दृश्य : सभापतिमा धमाधम घोषणा, एउटै गुटबाट दुई जनाको उम्मेदवारी दाबी



निशा गुरुङ

मकवानपुर कांग्रेसमा रोचक दृश्य : सभापतिमा धमाधम घोषणा, एउटै गुटबाट दुई जनाको उम्मेदवारी दाबी

हेटौंडा : इन्द्रबहादुर बानियाँपछि कांग्रेस मकवानपुरको नेतृत्व कसले प्राप्त गर्छ भन्ने कुराले अहिले यहाँको राजनीति तातेको छ। कांग्रेसको नेतृत्वलाई अन्य दलले पनि महत्वका साथमा हेरेको अवस्थामा यो पटक आफ्नै टिम मिलाउन निवर्तमान अध्यक्ष तथा हाल वाग्मती प्रदेश अध्यक्ष बानियाँलाई सकस परेको छ।

बानियाँ निकट मानिने बुद्ध लामा, आनन्दराम पराजुलीले सभापतिमा इच्छा देखाएपछि आफ्नै टिम मिलाउन उनलाई समस्या परेको हो।

कांग्रेस मकवानपुरको भोलि हुने निर्वाचनका लागि सभापतिमा संस्थापनपक्षबाट पराजुली, लामा र संस्थापनईतरबाट जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन्।

पराजुलीले आफूले सभापतिमा विजय हासिल गरे मकवानपुरलाई कांग्रेसमय बनाउने र मकवानपुरमा कम्युनिष्ट किल्ला तोड्दै कांग्रेसको किल्लामा रुपान्तरण गर्ने बताएका छन्। उनले आफूलाई कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र बानियाँको समर्थन रहेको दाबी गरेका छन्।

संस्थापन पक्षकै तर्फबाट सभापतिमा उम्मेद्वारी घोषणा गरेको लामाले आफूलाई संस्थापन र गैरसंस्थापन दुवै पक्षको सहयोग रहेको बताए। कांग्रेस जिल्ला सचिव रहेका लामाले पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने दृढसंकल्प लिएर आफूले लामो समयदेखि राजनीति गरेका कारण संस्थापन र इतर दुवै समूहले सहयोग गर्ने बताए।

संस्थापनईतरबाट उम्मेदवारी घोषणा गरेका जयराम लामिछानेले आफू सभापति भए मकवानपुर कांग्रेसको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट दातृ सहयोग ल्याउन पहल गर्ने बताए। पार्टीको केन्द्रसँग समन्वय गरी विविध कार्यक्रम ल्याउन र कांग्रेस मकवानपुरको नेतृत्व लिन सक्षम रहेको लामिछाने बताउँछन्।

बानियाँ निकटका लामा समूहले पराजुलीलाई हेटौंडा उपमहानगरपालिकाको मेयर पद ‘फाइनल’ गरेर पार्टीको जिम्मा आफूलाई दिनुपर्ने माग राखेको स्रोतको दाबी छ। उनीहरुले बानियाँलाई भेट गरी पराजुली प्यानलका उम्मेदवारलाई समेत समेटेर लैजाने तर नेतृत्व आफूहरुले पाउनुपर्ने माग राखेका छन्। पराजुली प्यानलले भने पार्टीको राजनीति र संसदीय राजनीति फरक भएको भन्दै आएका छन्।

हेटौंडाका विभिन्न मिडियासँग कुरा गर्दै पराजुलीले आफूविरुद्ध अफवाह फैलाइएको प्रतिक्रियासमेत लगाएका छन्। बानियाँको टिम नमिल्दा त्यसको असर स्थानीय, क्षेत्रीय तहमा नै उक्त समूहमा परेको छ। बानियाँ निकट मानिएका स्थानीय, क्षेत्रीय सभापति, प्रतिनिधिहरुले फरक प्यानलमा मत माग्न थालेका छन्।

बानियाँको टिम नमिलिरहेको अवस्थामा यो पटक इतरको टिमलाई फाइदा मिलेको छ। ईतर टिमबाट एकमात्र उम्मेदवार जयराम लामिछाने अघि बढेका छन्। उनलाई माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपानेसहित युवा नेताको साथ छ।

जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार हेटौंडा–१ चौकीटोल लोकप्रिय होटलअगाडि निर्वाचन प्रक्रिया सुरु हुनेछ। आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६:३० मा हुनेछ। मतदान भने सोमबार बिहान ८ बजेदेखि सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell