PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

संघारमा एमसीसीको 'डेडलाइन' : बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी



पहिलोपोस्ट

संघारमा एमसीसीको 'डेडलाइन' : बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौं : अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे निर्णय लिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ। बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

प्रतिनिधि सभामा टेवल भएको एमसीसीमाथि आज छलफल सुरु हुने कार्यतालिका रहेको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल कसरी प्रस्तुत हुने भन्नेबारे अहिले गठबन्धनमा छलफल चलिरहेको बताइएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन्।

एमसीसी सदनबाट भोलि १६ गतेभित्र अनुमोदन गरिसक्नुपर्ने समयसीमा रहेको छ। यसबिचमा सत्तारुढ दलबिच नै एकमत हुन नसकेपछि सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको साथ खोजेको थियो। तर एमालेले संसद अवरोध हटाउन आफ्नो पुरानै अडान दोहोर्‍याएको छ।

यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री देउवाले सम्बन्ध बढाएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीमा व्याख्यात्मक टिप्पणी गर्दै एमसीसी पारित गर्ने पक्षमा उभिएको बताइएको छ। यसैबारे अन्तिम निर्णय गर्न सत्ता गठबन्धन छलफलमा जुटेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell