PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कीभमा जारी छ भिडन्त : रसिया र युक्रेनको सैन्य क्षमता कति?



पहिलोपोस्ट

कीभमा जारी छ भिडन्त : रसिया र युक्रेनको सैन्य क्षमता कति?
Photo : REUTERS/Gleb Garanich

रसियाले स्थानीय समयअनुसार बिहीवार बिहान ५ बजेबाट युक्रेनमाथि आक्रमण सुरु गर्‍यो। रसियाले उत्तर, पूर्व र दक्षिणबाट मिसाइल तथा हवाई हमलाहरू गरेको थियो। तीन-पक्षीय आक्रमण क्रमशः राजधानी कीभ, खार्किभ र खेरसोन सहरहरू लक्षित थिए। अहिले रसियाली सैनिकहरु राजधानी कीभ पुगिसकेका छन्। २४ घण्टाभन्दा बढी समयदेखि कीभमा भिडन्त भइरहेको छ।

बिहीवार साँझसम्म कीभ नजिकको रणनीतिक एयरबेसमा भयंकर लडाई भएको थियो। रसियाली हेलिकप्टर र हवाई सेनाले शहरबाहिर ‘ब्रिजहेड’ स्थापना गर्ने प्रयास गर्दा सो भिडन्त भएको थियो।

सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा एन्टोनोभ मिलिटरी एयरफिल्डमा रसियन केए-५२ र एमआइ८ हेलिकप्टरहरू अवतरण गरेको देखिएको थियो। सो दृश्य आक्रमण सुरु भएदेखि यताकै सबैभन्दा नाटकीय रहेको बताइएको छ।

युक्रेनी राष्ट्रपतिका एक सल्लाहकारले युक्रेनले उत्तरमा रहेको ‘चेर्नोबिल न्युक्लियर साइट’मा पनि नियन्त्रण गुमाएको बताएका छन्। जहाँ रसियाली सेनाले बेलारुसबाट सीमा पार गरी आक्रमण गरेका थिए। विश्वको सबैभन्दा खराब आणविक प्रकोप भएको स्थानको अवस्थाबारे हाल आफ्ना अधिकारीहरुलाई थाहा नभएको ति सल्लाहकारले बताएका थिए।

चेर्नोबिल क्षेत्र रसियाले बेलारुसबाट कीभको पश्चिममा आक्रमण गर्ने मार्गमै पर्छ, जहाँ युक्रेनको राष्ट्रपति भवन र अन्य प्रमुख भवनहरू रहेका छन्।

हवाई तथा मिसाइल स्ट्राइकहरूले अहिलेसम्म प्रायः सैन्य पूर्वाधारहरूमा केन्द्रित रहेर आक्रमण गरेका छन्। जसमध्ये मारियुपोलको सीमानामा रहेको वायु रक्षा साइट, ओचाकिवको युक्रेनी नौसेना आधारबेस र कीभबाट २०० किलोमिटर दक्षिण-पश्चिममा रहेको कालिनिभकामा रहेको हतियार डिपोलगायत रहेका छन्।

रसियाको रक्षा मन्त्रालयले आफ्ना सेनाले ७४ वटा जमिनमा रहेका सैन्य पूर्वाधारहरू नष्ट गरेको दावी गरेको छ। तर, यो पुष्टि हुन सकेको छैन। अमेरिकाले आक्रमणको पहिलो चरणमा रसियाले १०० मिसाइल प्रहार गरेको र ७५ वटा विमान प्रयोग गरेको विश्वास गरेको बताएको छ।

रसिया र युक्रेनको सैन्य क्षमता

रसियाले युक्रेनमाथि आक्रमणको लागि हालसम्म १ लाख ५० हजार बढी सेनाहरू तैनाथ गरेको अनुमान गरिएको छ। जसमा थप ३४ हजार ‘हल्का रुपमा हतियार बोकेका सेनाहरू’ रसियाद्वारा स्वघोषित क्षेत्रहरू डोनेट्स्क र लुहान्स्कमा तैनाथ छन्। त्यो रसियाको कुल स्थलसेनाको करिब दुई तिहाइ भएको अनुमान गरिएको छ। त्यस्तै, मस्कोले आधा वायुसेना पनि यस क्षेत्रमा तैनाथ गरेको जनाइएको छ।

यसको तुलनामा युक्रेनको सेना निकै सानो छ। इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्रेटेजिक स्टडिजका अनुसार युक्रेनको नियमित सेनाको संख्या १ लाख २५ हजार ६०० छ। तर, उसले कम्तिमा ३६ हजार सेना परिचालन गरेको छ। अहिले भने रसियासँग भिड्न युक्रेनले नागरिकलाई नै हतियार दिएको छ। कीभमा नागरिकहरु नै हतियार बोकेर मैदानमा उत्रिएका छन्। जसकारण अहिले युक्रेनी बल केही बढेको छ।

रसियासँग २ हजार ८४० ट्याङ्क छ भने युक्रेनसँग ५८५ ट्याङ्क छ। त्यस्तै, रसियाको ५ हजार २२० को तुलनामा युक्रेनसँग १ हजार १८४ युद्ध सवारी साधन छ।

यसैगरी, रसियासँग ४ हजार ६८४ आर्टिलेरी छ भने युक्रेनसँग १ हजार ८१८ आर्टिलेरी छ। यस्तै, रसियाको १ हजार ५२० बढी एयर डिफेन्स र १५० ब्यालेस्टिक मिसाइलको तुलनामा युक्रेनसँग ७५ बढी एयर डिफेन्स र ९० ब्यालेस्टिक मिसाइल छ।

युक्रेनलाई बिटकोइन सहयोग

मस्कोले बिहीवार बिहान युक्रेनविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेपछि युक्रेनी सेनालाई बिटकोइन सहयोग बढ्दै गएको छ।

ब्लकचेन एनालिटिक्स फर्म ‘इलिप्टिक’को नयाँ डाटाअनुसार बिहीवार १२ घण्टाको समयमा गरिब ४ लाख अमेरिकी डलर बराबरको बिटकोइन सशस्त्र बलहरूलाई सहयोग गरिरहेको युक्रेनी गैरसरकारी संस्था ‘कम ब्याक अलाइभ’लाई प्रदान गरिएको थियो।

पछिल्ला केही हप्तामा लाखौँ डलर बराबरको ‘क्रिप्टो डोनेसन’ रसियाको आक्रमणलाई रोक्न काम गरिरहेका युक्रेनी गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूलाई आइरहेको ‘इलिप्टिक’ले उल्लेख गरेको छ। युक्रेनको सैन्य क्षमतालाई यसले केही हदसम्म बलियो बनाउने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell