PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

युक्रेनमाथि आक्रमण गरेको भन्दै पोल्याण्ड र स्वीडेनले रसियासँग विश्वकप छनोट खेल्न गरे अस्वीकार



पहिलोपोस्ट

युक्रेनमाथि आक्रमण गरेको भन्दै पोल्याण्ड र स्वीडेनले रसियासँग विश्वकप छनोट खेल्न गरे अस्वीकार
विश्वकप छनोटमा इङ्ग्ल्याण्डसँगको खेलअघि पोल्याण्डको राष्ट्रिय फुटबल टोली। तस्बीर : सीएनएन

पोल्याण्ड र स्वीडेनले रसियासँग २०२२ फुटबल विश्वकप छनोटको खेल खेल्न अस्वीकार गरेका छन्। पोल्याण्डको फुटबल संघका अध्यक्ष सेजरी कुलेस्जाले युक्रेनमाथि रसियाले गरेको आक्रमणको विरोधमा दुई टोलीले खेल्न खेल्न अस्वीकार गर्ने जनाएका हुन्।

'अब थप शब्दहरू होइन, कार्य गर्ने समय हो। युक्रेनविरुद्ध रसियाली आक्रामकताको कारण पोल्याण्डको राष्ट्रिय टोलीले रसिया विरुद्धको प्लेअफ खेल खेल्ने इच्छा राखेको छैन,' उनले भनेका छन्, 'हामी (स्वीडिश) र (चेक) महासंघहरु संग फिफाको एक संयुक्त विज्ञप्ति अगाडि ल्याउन वार्तामा छौं।'

पोल्याण्ड विश्वकप छनोटका लागि मार्च २४ को खेलका लागि मस्को जाने तयारी थियो। त्यहि दिन युक्रेनले स्कटल्याण्डसँग खेल्ने तयारी छ।पोल्याण्ड र रसियाबिचको टोलीले स्वीडेन या चेक रिपब्लिकसँग २९ मार्चमा प्रतिस्पर्धा गर्नेछन्।

अर्कोतर्फ स्वीडिस फुटबल संघको बोर्ड बैठकले रसियासँगको सम्भावित खेल नखेल्ने निर्णय गरेको छ।

'फेडरल बोर्डले फिफालाई मार्चमा हुने प्ले-अफ खेलहरू रद्द गर्न पनि आग्रह गरेको छ जसमा रसियाले भाग लिनेछ' स्वीडिस फुटबल संघको विज्ञप्तिमा भनिएको छ, 'फिफाले हाम्रो आह्वानलाई मान्ने छैन भन्ने विश्वास गर्न हामीलाई गाह्रो छ। यो पागलपन जारी रहेसम्म रसिया छनोटमा सामेल हुन सक्दैन।'

जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीले पनि ट्वीट गर्दै संघको निर्णयलाई सही भनेका छन्।

'युक्रेनमा सशस्त्र आक्रमण जारी रहेको अवस्थामा म रसियाली राष्ट्रिय टोलीसँग खेल खेल्ने कल्पना गर्न सक्दिन,' लेवान्डोस्कीले ट्वीट गरेका छन्, 'रसियाली फुटबलर र फ्यानहरू यसको लागि जिम्मेवार छैनन्, तर हामी केही भइरहेको छैन भनेर बहाना गर्न सक्दैनौं।'

पोलिस टिमका अन्य खेलाडीले पनि संयुक्त विज्ञप्ति निकाल्दै संघको निर्णयमा सहमति जनाएका छन्।

'हामी, पोल्याण्डको राष्ट्रिय टोलीका खेलाडीहरू पोल्याण्ड फुटबल संघसँग मिलेर युक्रेन विरुद्ध रसियाको आक्रामकताको परिणामस्वरूप रसिया विरुद्धको प्ले-अफ खेल खेल्ने इच्छा नगर्ने निर्णय गरेका छौं,' खेलाडीको विज्ञप्तिमा भनिएको छ,'यो सजिलो निर्णय होइन, तर जीवनमा फुटबलभन्दा धेरै महत्त्वपूर्ण कुराहरू छन्। हाम्रो विचार युक्रेनी राष्ट्र र हाम्रो राष्ट्रिय टोलीका साथी टोमास केडजियोरासँग छ, जो अझै पनि आफ्नो परिवारसँग कीभमा छन्।'

२७ वर्षे पोलिस खेलाडी केडजियोरा युक्रेनी क्लब डाइनामो कीभबाट खेल्छन्।

शुक्रवार युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएको बोर्ड बैठकले च्याम्पियन्स लिगको फाइनल रसियाबाट सार्ने निर्णय गरेको थियो।

युरोपको पुरुष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग मे ८ मा सेन्टपिटरबर्गस्थित क्रिस्टोभ्स्की रंगशालामा हुने तालिका थियो। सरकारी स्वामित्वको कम्पनी गाजप्रोमको प्रायोजनमा रहेको उक्त स्टेडियममा २०१८ को फिफा विश्वकप र २०२० युरोकपका खेलहरुसमेत भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell