PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

फागुन ८ गते खोलामा नै मिल्काउन सक्ने आन्दोलनकारीले १२ गते 'ब्यारिकेट' ढलाउन किन सकेनन्?

फागुन ८ गते खोलामा नै मिल्काउन सक्ने आन्दोलनकारीले १२ गते 'ब्यारिकेट' ढलाउन किन सकेनन्?

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : गत बिहीवार बिहानै प्रहरी प्रधान कार्यालय नक्सालको कार्य विभाग प्रमुख एआईजी सहकुलबहादुर थापाले बिफ्रिङको लागि डाके। महानगरीय प्रहरी कार्यालय काठमाडौँका एसपी दिनेशराज मैनाली, डीएसपी सुदिराज शाही, एसएसपी अशोक सिंह लगायतका प्रहरी सहभागी ब्रिफिङमा उपस्थित थिए।

एआईजी थापाले ब्रिफिङ गर्नुका कारण नयाँ बानेश्वरमा केही दिनदेखि भइरहेको प्रदर्शनको विषय नै थियो। फागुन १२ गते बिहीवारको त्यो ब्रिफिङ त्यस दिन हुँदै गरेको बानेश्वरको प्रदर्शनलाई कसरी नियन्त्रणमा लिने भन्नेमा थियो, त्यो पनि सकेसम्म कम बल प्रयोग गरेर।

फागुन ८ गते प्रहरीले भिड नियन्त्रणमा लिन वाटर क्यानबाट पानीको फोहोरा मात्र होइन अश्रु ग्याँस समेत प्रहार गर्नुपरेको थियो। दिनभरमा ११५ वटा अश्रु ग्यास प्रहार भएको थियो। प्रदर्शनकारीको निशानामा पर्दा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको सीआरभी भ्यान समेत क्षति हुन पुगेको थियो। २७ वटा प्रोटेक्टिभ सिलमा क्षति भएको थियो त्यस दिन। गल्ली गल्लीबाट प्रदर्शनकारी निस्किएर आक्रमण गरेका थिए प्रहरीलाई। प्रहरी पनि आफ्नो संयमयता गुमाउँदै गएको थियो। त्यसैले १२ गतेको प्रदर्शनमा रणनीति फेर्नु वाध्यता थियो प्रहरीका लागि।

नभन्दै ८ गतेको भन्दा १२ गते प्रदर्शनमा प्रहरी सफल भयो - आन्दोलनकारी कमजोर। आन्दोलनकारी जति उत्तेजित भए पनि प्रहरीले संयमता देखायो। घम्साघम्सी पनि चल्यो। तर, फागुन ८ गतेको तुलनामा १२ गते क्षति धेरै न्युन भयो।

'हाम्रो टोलीलाई प्रर्दशनकारीबाट क्षति कम भयो। सुरक्षा घेरा तोडेर अगाडि बढेनन् भने प्रहरी पनि संयमित नै हुन्छ। त्यसैले हामीले यस्ता गतिविधि हुन नदिनका लागि रणनीति बनाएर नै अगाडि बढेका थियौं,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले भने।

प्रहरीका तीन रणनीति जसले आन्दोलनकारीलाई उग्र हुन रोक्यो -

१ किल्ला बनाएर बस्यो प्रहरी

प्रहरीको मुख्य जिम्मेवारी प्रदर्शनका क्रममा जनधनको सुरक्षा नै हो। प्रदर्शनकारीकै पनि सुरक्षा जिम्मा प्रहरीमाथि नै हुन्छ। फागुन ८ गते निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अगाडि बढेका थिए। प्रदर्शनकारीलाई रोक्न प्रहरीले बनाएको किल्ला तोडियो त्यस दिन। प्रहरी राखेको फलामे व्यारिकेट तोडेर उनीहरू अगाडि बढ्दा दुई पक्षबिच झडप भयो। प्रदर्शनकारीले केही व्यारिकेट त खोलामा लगेर फ्याँलेका थिए।

१२ गतेको आन्दोलनमा भने प्रहरीले फरक रणनीति बनायो। एउटा र अर्को व्यारिकेटलाई 'लक' गर्‍यो प्रहरीले। त्यसपछि प्रदर्शनकारीले त्यसलाई तोड्न सकेनन्। जसका कारण प्रहरी पनि कम आक्रमण भए ८ गतेको तुलनामा।

२. गल्ली तथा इँटा, डुङ्गा व्यवस्थापन

प्रदर्शन उग्र बन्दै गएपछि प्रदर्शनकारीले नारा जुलुसमात्र होइन, इँटा डुङ्गा प्रहार गरेको पाइन्छ। ८ गते भएको प्रदर्शनमा धेरै नै मात्रामा इँटा डुङ्गा प्रहार भएका थिए। ढुंगा लागेर प्रहरीमात्र होइन, प्रदर्शनकारी पनि घाइते भए। प्रदर्शनकारीले सडक पेटीमा छापिएका इँटा, ढुंगा उक्काएर प्रहार गरेका थिए। त्यतिमात्र होइन, गल्लीतिर निर्माणाधीन भवनका लागि राखिएका इँटाढुँगा समेत प्रदर्शनकारीले प्रहरीलाई हिर्काउन प्रयोग गरेका थिए।

१२ गतेका लागि आन्दोलनमा प्रहरीले यस्ता इँटा, ढुंगा व्यवस्थित गर्ने रणनीति बनायो। काठमाडौं महानगरपालिका र सिभिल प्रहरीको सहयोगमा बानेश्वर नजिकै थुपारिएका इँटाढुँगाको खोजी गर्‍यो र त्यसको व्यवस्थापन तथा निगरानी गर्‍यो। प्रहरीमाथि आक्रमणका लागि ढुंगा सहज भएन।

'हामीले सिभिल प्रहरी नै यस्ता इँटाढुगा नियन्त्रण तथा व्यवस्थापन गर्ने खटाएका थियौँ,' एसपी मैनालीले भने। त्यस्तै, मूल सडकमा जोडिएका गल्लीगल्लीमा उपस्थिति बलियो बनायो - जहाँ अघिल्लो पटक प्रहरीले मार खाएको थियो।

३. माइकिङ र प्रहरीको संयमता

प्रदर्शनमा प्रहरी र आन्दोलनकारी दुवै उग्र हुन सक्छन्। आन्दोलनकारी उत्तेजित भए पनि प्रहरीलाई त्यस्तो छुट हुन्न। प्रहरी उत्तेजित हुँदा प्रदर्शन झन् हिंसात्मक हुने भइहाल्यो। तर, एमसीसीसँग जोडिएको प्रदर्शनमा तुलनात्मक रूपमा प्रहरी संयमित देखियो। आन्दोलन सामान्य बनाउन आन्दोलनकारीलाई नमस्कार गर्ने र हार्दिकता देखाएको एसपी मैनालीले सुनाए। त्यसो त प्रदर्शन चर्किँदै गएपछि काठमाडौं जिल्लाका एसपीदेखि प्रहरी प्रमुख सुदीप गिरीसमेत फिल्डमा खटिएका थिए।

अश्रु ग्याँसदेखि वाटर क्यानेन प्रयोग गर्दा समेत प्रहरीले सुरुमा नै सङ्केत गरेको थियो। पहिले नै माइकिङ गरेर चेतावनी दिएपछि मात्र अश्रु ग्याँस र पानी हानिएको प्रहरीको दावी छ।



ट्रेन्डिङ पोस्ट

Ncell