PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

ललितपुर मेयर्सलाई पराजित गर्दै प्रदेश नं १ विजयी, फाइनलमा एपिएफ र सुदूरपश्चिम भिड्ने



पहिलोपोस्ट

ललितपुर मेयर्सलाई पराजित गर्दै प्रदेश नं १ विजयी, फाइनलमा एपिएफ र सुदूरपश्चिम भिड्ने

काठमाडौं : ललितपुर मेयर महिला टी-ट्वान्टी च्याम्पियनशिपअन्तर्गत आज भएको आफ्नो अन्तिम खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जीत हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स ११ लाई २२ रनले पराजित पराजित गर्दै विजयी भएको हो। प्रदेश नं १ यसअघि नै फाइनलयात्राबाट बाहिरिसकेको थियो। खेलमा १२० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स १९ दशमवल पाँच ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रनमा समेटियो।

ललितपुरका लागि सुमन खतिवडाले सर्वाधिक ४४ रनको योगदान दिइन भने अञ्जली विश्वकर्माले २१ रन जोडिन्। प्रदेश नं १ का लागि अलिसा खडियाले सर्वाधिक तीन विकेट हात पारिन् भने सवनम राईले दुई विकेट हात पारिन। त्यस्तै ज्योति दनुवार र सङ्गीता राईले १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको प्रदेश नं १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन जोडेको थियो। प्रदेशका लागि काजल श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान गरिन् भने कप्तान रुविना क्षेत्रीले ३९ रन जोडिन्।

ललितपुर मेयर्सका लागि खुसी डंगोलले सर्वाधिक दुई तथा अनुराधा चौधरीले एक विकेट हात पारे। प्रतियोगितामा प्रदेश नं १ ले चार खेलमा दुई जीत हात पारेको छ। यता ललितपुर मेयर्सले भने चारवटै खेलमा पराजय भोगेको छ।

उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरिसकेका छन्। फाइनल खेल सोमबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell