
अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान पुगेको छ। प्याट कमिङ्ग्सको कप्तानीमा अस्ट्रेलियन टोली आज इस्लामाबाद पुगेको हो। सुरक्षाको कारण देखाउँदै विभिन्न देशका टिमले पाकिस्तानमा खेल्न अस्वीकार गरिरहेको अवस्थामा अस्ट्रेलियन टिमको पाकिस्तान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
अस्ट्रेलियाको टोलीले पछिल्लो पटक सन १९९८/९९ मा पाकिस्तानको भ्रमण गरेको थियो।
सन् २००९ मा श्रीलंकन टिमको बसमा आक्रमणपछि अन्य देशहरुले पाकिस्तान भ्रमण गर्न अस्वीकार गर्दै आएका छन्। पाँच वर्षअघि पनि अस्ट्रेलियन टिमले पाकिस्तान भ्रमणको तयारी गरेको थियो। तर, लाहोरस्थित चर्चमा आत्मघाती बम बिस्फोटन भएपछि उक्त भ्रमण रद्ध भएको थियो।
Arrived in 🇵🇰 pic.twitter.com/pnis0ckFeO
— Steve Smith (@stevesmith49) February 27, 2022
अप्रिल ६ मा पाकिस्तानबाट फर्कनु अघि अस्ट्रेलियाले तीन टेस्ट, तीन एकदिवसीय र एउटा टी २० म्याच खेल्नेछ।
पाकिस्तानी क्रिकेट अधिकारीहरुले उनीहरुको सुरक्षाको लागि सबै प्रबन्ध गरेको जनाएको छ। इस्लामाबादस्थित होटल र रावलपिण्डीस्थित क्रिकेट मैदानमा गरी ४ हजार प्रहरी र सैनिक अधिकारीहरु तैनाथ गरिएको जनाएका छन्।
'टोलीलाई 'हेड अफ स्टेड लेभल सेक्युरिटी' दिइएको छ,' पाकिस्तानी इन्टेरियर मिनिस्ट्रीले एएफपीसँग भनेको छ, 'यस्ता प्रबन्धहरू उच्च-स्तरीय विदेशी प्रतिनिधिमण्डलहरू, र पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र गरिन्छ।'
अष्ट्रेलियन टोलीले १५ किलोमिटर यात्रा गर्दा सडकहरू अवरुद्ध हुनेछन्। खेलाडी यात्रा गर्ने बसलाई सेनाको हेलिकप्टरले निगरानीमा राख्नेछ।
'स्निपर(सुटर) हरू स्टेडियम वरपरका भवनहरूमा राखिनेछ। नजिकका पसलहरू र कार्यालयहरूलाई म्याचका दिनहरूमा बन्द गर्न आदेश दिइएको छ,' पाकिस्तानको आन्तरिक मन्त्रालयले भनेको छ, 'यस्तै व्यवस्था कराँची र लाहोरमा हुने खेलका लागि पनि हुनेछ।'