काठमाडौं : कलाकार पल शाह विरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा पनि जवर्जस्ती करणीको उजुरी परेको छ। आज बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका हुन्।
शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको नियन्त्रणमा आएका हुन्। त्यसलगत्तै आज पीडितले अर्को उजुरी दर्ता गराएका हुन्।
'पीडित स्वयम् नै आएर जवर्जस्ती करणीको उजुरी दिनु भएको छ। थप अनुसन्धान हुन्छ,' इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डिले भनिन्।
२०७७ चैत ७ गते शाहले सुटिङको क्रममा गैडाकोट रिसोर्टमा जवर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। तनहुँमा उजुरी गर्ने र गैंडाकोटमा उजुरी गर्ने पीडित किशोरी एकै हुन्। शाहले १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। नेपालको कानुनमा १८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्पर्क गर्नु अपराध हो। शाहले अपराध गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ।