
काठमाडौं : मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल)ले एमसीसीलाई संसदबाट पारित गराउने जस्ता गतिविधिहरू बन्द गर्न माग गरेको छ। महामन्त्री सिंहले वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन्। उनले एमसीसीलाई सम्झौतालाई संसदबाट पारित गराउन पाँच दलिय गठबन्धन भंग गर्ने खेलसमेत भएको बताएका छन्।
'एमसीसीका कारणले त्यो गठबन्धन नै टुटने प्रकारका कैयौं संकेतहरू देखा पर्न थालेका छन्,' सिंहले जारी गरेको वक्तव्यमा भनिएको छ, 'त्यसो भयो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने छ। त्यसको परिणामस्वरुप देश प्रतिगमनको दिशामा जाने मात्र होइन, देशमा फासिस्ट शासन कायम हुने समेत खतरा रहने छ।'
उनले नेपालमा एमसीसीको प्रश्न अत्यन्त गम्भीर बनेर गएको दाबी गरेका छन्। 'अमेरिकाले एकातिर खुल्ला प्रकारले धम्की दिएर र अर्कातिर विभिन्न राजनीतिक पार्टीहरूमाथि दबाब बढाएर एमसीसीको प्रस्तावलाई संसदद्वारा पारित गराउनका लागि पूरा शक्ति लगाइरहेको छ,' उनले भनेका छन्, 'यो कुरा प्रष्ट छ कि एमसीसी इन्डोप्यासिफिक रणनीतिको अङ्ग हो, त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति तथा वृहत्तर राष्ट्रिय हितमाथि नै गम्भीर आँच पुग्नेछ। वास्तवमा एमसीसी सामान्य आर्थिक वा विकास सम्बन्धी सम्झौता मात्रै होइन।'
सिंहले सम्झौताको माध्यमद्वारा अमेरिकाले नेपालमाथि कैयौँ प्रकारले नियन्त्रण गर्ने षडयन्त्र गरेको छ र त्यसका गम्भिर प्रकारका दूरगामी परिणामहरू हुने बताएका छन्।