वीरगंजः नेपाली कांग्रेस पर्साको जिल्ला अधिवेशन थप दुई दिन पछि धकेलिएको छ। १४औँ महाधिवेशन अन्तर्गत पटकपटक सर्दै आएको जिल्ला अधिवेशनको कार्यतालिका दुईदिन पछि धकेलिएको हो।
पर्साका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीका अनुसार प्राविधिक तयारीको कारण अधिवेशन फागुन १७ गतेबाट १९ गतेलाई सारिएको हो।
नयाँ कार्यतालिका अनुसार १७ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन र सोही दिन १० बजेदेखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। साँझ साढे ६ बजेसम्म दाबी विरोध वा उम्मेदवारी फिर्ताको तालिका छ।
फागुन १९ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आदर्शनगरस्थित बालमन्दिर परिसरमा मतदान हुनेछ।
जिल्ला सभापतिमा रामनारायण कुर्मी, जनार्दनसिंह क्षेत्री र श्याम पटेलको चर्चा छ।