PahiloPost

Apr 1, 2025 | १८ चैत्र २०८१

अमेरिकाको सिकागोबाट ७ साँढेको नेपाल यात्रा : कतार र दिल्ली ट्रान्जिट हुँदै ल्याइयो काठमाडौं



खेमराज श्रेष्ठ

अमेरिकाको सिकागोबाट ७ साँढेको नेपाल यात्रा : कतार र दिल्ली ट्रान्जिट हुँदै ल्याइयो काठमाडौं

काठमाडौं : गाईको प्रजनन सुधार्न 'बीऊ'का लागि अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ। अमेरिकाको सिकागोबाट कतार एयरलाइन्सको कार्गो जहाजबाट दोहा ट्रान्जिट गराउँदै भारतको नयाँ दिल्लीसम्म ल्याइएको हो। त्यहाँबाट भने नेपाल एयरलाइन्सको वाइड बडी जहाज चढाएर काठमाडौं उतारिएको हो।

कृषि मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले साँढेहरु खरिद गरेको हो। विमानबाट नेपाल ल्याइएका पाँचवटा शत् प्रतिशत जर्सी हुन्। यस्तै, दुईवटा शत् प्रतिशत होलिस्टन रहेको आयोजनाका अनुगमन मूल्याङ्कन अधिकृत डा. केशव भट्टले जानकारी दिए।

ल्याइएका साँढे कृत्रिम गर्भाधानका लागि प्रयोग गरिने आयोजनाका भट्टले बताए। उनका अनुसार यसभन्दा अघि नेपालमै रहेका राम्रा साँढे छानेर कृत्रिम गर्भाधान गराइन्थ्यो।

यहाँ ल्याए लगत्तै सबै साँढेको स्वस्थ्य परीक्षण गरिएको छ। ल्याइएका साँढेको उमेर दुई देखि नौ वर्ष रहेको केन्द्रले जनाएको छ।

करोडौं खर्चबाट नेपालसम्मको यात्रा

आयोजनाले साँढे भित्र्याउने जिम्मा मेट ग्रुप नेपाललाई दिएको थियो। आयोजनाले मेट ग्रुपसँग एक करोड ३० लाख रुपैयाँमा खरिद सम्झौता गरेको हो।

मेट ग्रुपले अमेरिकाको सिकागोको एजी वर्ल्डबाट साँढे किनेको हो। कम्पनीले साँढे ल्याउन झन्डै एक वर्ष समय लागेको जनाएको छ।

'हामीले धेरै मेहनेत गरेपछि गोरु ल्याउन सफल भएका हौं,' कम्पनीका सञ्चालक सरिन केसीले भने, 'प्रक्रियागत झन्झटले एक करोड ३० लाखमा भएको सम्झौता लागत बढेर दुई करोड पुग्यो।'

कम्पनीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यलयबाट साँढे जाँचपास गराएको हो। विमानस्थल भन्सार कार्यालयले आयात शुल्क लिएको छैन।

राष्ट्रिय पशु प्रजनन कार्यालयले अब कम दूध उत्पादन गर्ने गाईलाई यी गोरुको 'शुक्रकिट' प्रयोग गरी गर्भाधान गराइनेछ। यसो गर्दा गाईहरुमा नश्ल सुधार भइ दूध उत्पादन बढ्ने दावी गरिएको छ।

आइसोलेसनमा साँढेहरु !

अहिले ल्याइएका साँढेलाई राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखरामा पुर्‍याइसकिएको छ। लामो यात्रा गरेका साँढेमा हुनसक्ने तनाव कम गराउने प्रयास पनि भइरहेको केन्द्रले जनाएको छ। यस्तै, साँढेहरुलाई आइसोलेसनमा राखिएको छ।

महँगो खर्च र लामो प्रकृया पूरा गरेर भित्र्याइएका साँढेहरुलाई व्यवस्थित गोठको प्रयोग गरी राखिएको केन्द्रले जनाएको छ। संवेदनशील भएकाले यस्ता साँढेको व्यवस्थापनमा उच्च सतर्कता अपनाउनु पर्ने हुन्छ।

कति मिल्छ यसबाट फाइदा?

हाल नेपालमा प्रयोग गरिएको होलिस्टेन र जर्सी बुढो हुँदै जाँदा उत्पादकत्व र गुणास्तर कमजोर हुँदै गएकाले नयाँ ल्याइएको हो।

अहिले ल्याइएको होलिस्टेन र जर्सीको प्रयोगले करिब सात पुस्तापछि शत प्रतिशत जर्सी र होलिस्टेन उत्पादन हुने आँकलन गरिएको छ। पहिलोपटक जर्सी र लोकल गाईको क्रस गराउँदा ५० प्रतिशत लोकल र ५० प्रतिशत होलिस्टेन/जर्सीको जिन बाच्छा/बाच्छीमा सर्ने बताइएको छ।

वैज्ञानिक तवरले सबै प्रकृया पूरा गरेकाले उद्देश्य अनुरुप सफलता मिल्ने दाबी आयोजनाले गरेको छ।

यसको प्रयोगबाट हाल नेपालमा रहेका गाईहरुको उत्पादन ५० प्रतिशतले वृद्धि हुने पनि दाबी गरिएको छ। आयोजनाले लोकल गाई, नौमुठे गाईको प्रजाति मासिन नदिने गरी काम गर्ने जनाएको छ।

जंगबहादुरले पनि थिए भित्र्याएका

शुक्रवार नेपाल ल्यान्ड भएका साँढे पहिलो पटक ल्याइएको भने होइन। यसरी साँढे भित्र्याउने क्रमको सुरुवात १ सय ७० वर्ष पहिले नै भएको थियो। नेपालमा दूध उत्पादन क्षमता बढाउनका लागि पटक पटक साँढे ल्याउने गरिएको छ।

१९०७ सालमा जंगबहादूर राणा बेलायत गएका थिए। उनी ८० दिन बेलायत र ४० दिन फ्रान्स बसेको बताइन्छ। भारतको कोलकाताबाट पानी जहाजको महिना लामो यात्रा पूरा गरेर उनी बेलायत पुगेका थिए। फर्केर आउँदा उनले यस्तै साँढे ल्याएका थिए।

जंगबहादुरले साँढे ल्याएको १ सय ७० वर्षपछि नेपालमा उस्तै प्रयोजनका लागि अमेरिकाबाट साँढे ल्याइएको हो। सार्वजनिक खरिद ऐन बमोजिम बोलपत्र आव्हान गरेर यी अमेरिकी साँढे नेपाल ल्याइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell