PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

यस्तो छ महाशिवरात्रीको दिन पाशुपत क्षेत्रको यातायात रुट, ९ सय ट्राफिक प्रहरी खटिँदै



पहिलोपोस्ट

यस्तो छ महाशिवरात्रीको दिन पाशुपत क्षेत्रको यातायात रुट, ९ सय ट्राफिक प्रहरी खटिँदै

काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक रुट सार्वजनिक गरेको छ।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडलाई मध्यनजर गरि सहज आवतजावतको प्रबन्ध मिलाएको महाशाखाले जनाएको छ। धेरै टाढाबाट भक्तजनहरु आउने हुनाले गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

अन्य नियमित दिनझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ। तर, भक्तजनहरुको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई बैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी जोशीले बताए।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भइ चक्रपथमा चल्ने यातायात संचालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी बैकल्पिक मार्गबाट सवारी संचालनको व्यवस्था मिलाईने समेत एसएसपी जोशीले जानकारी दिए।

विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एव भक्तजनका सवारी साधनलाई सिफल चौर, गौरीघाट करिडर, गुह्येश्वरी, तिलगंगाको पार्किङ्ग र तिलगंगा करिडरमा पार्किङ्गको व्यवस्था मिलाइएको छ। यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्र कोषका तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासबाहक सरकारी सवारी साधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ।

ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजीव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइएको जानकारी दिए।

तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र वाग्मती करिडरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई सो खण्डमा निषेध गरि डाइभर्सनको प्रबन्ध मिलाइएको छ।

शिवरात्री पर्व अवधिभर ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नौ सय ट्राफिक प्रहरी परिचालन हुनेछन्।

ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेकोछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell