रसियाले पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेसँगै सुरु भएको युद्ध पाँचौ दिनमा प्रवेश गरेको छ। बिहीवार बिहानबाट रसियालेले युक्रेनमा सैन्य कारवाही सुरु गरेको थियो। रसियाली सैनिक युक्रेनको राजधानी कीभमा नै पुगिसकेका छन्। कीभसँगै अन्य क्षेत्रमा अहिले रसियाली र युक्रेनी सेनाबिच भिडन्त जारी छ। युक्रेन सरकारले आफ्नो भूमि बचाउन युक्रेनी नागरिकलाई नै हतियार दिएको छ। जसकारण नागरिकहरु हतियार सहित आआफ्नो शहरमा गस्ती गरिरहेका छन्।
युक्रेनले रसियाको आक्रमणका कारण हालसम्म ३५२ जनाको मृत्यु भइसकेको जनाएको छ। युक्रेनी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १४ बालबालिका समेत छन्।
रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले ‘न्यूक्लियर फोर्स’ लाई ‘हाइ अलर्ट’मा रहन निर्देशन दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदमीर जेलेन्स्कीले आजको दिन आफूहरुका लागि निकै ‘महत्वपूर्ण’ रहेको बताएका छन।
यसबिच युक्रेन र रसियाबिच वार्ताका लागि पहल पनि भइरहेको छ। बेलारुसमा युक्रेन र रसियाका प्रतिनिधिबिच वार्ताको तयारी भएको बताइन्छ। दुई देशबिचको वार्ताका लागि स्थान तयार भइसकेको बेलारुसको सरकारी संचार माध्यम ‘बेल्टा’ले जनाएको छ। चाँडै नै दुवै देशबिच वार्ता सुरु हुने बेल्टाले उल्लेख गरेको छ।
युक्रेनी सेनाले रसियाले अहिले आक्रमण गर्ने क्रम घटाउँदै लगेको जनाएको छ। यद्यपि, केही स्थानलाई नियन्त्रणमा लिन रसियाली सेनाहरु आक्रमण भएको बताइन्छ।
बेलारुसले युद्धमा रसियालाई समर्थन गर्ने आकंलनबिच वार्ताको तयारी भएको छ। बेलारुसका राष्ट्रपति एलेक्सजेन्डर लुकास्हेन पुटिनका विश्वासपात्र हुन।
भ्याटिकन सिटीले पनि दुई देशलाई वार्तामा ल्याउन मध्यस्थता गर्न आफू तयार रहेको जनाएको छ।