काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका नेता नारायणकाजी श्रेष्ठले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि विरोध गरेकोमा आलोचना गरेका छन्। श्रेष्ठले विवाद बाहिर राखेर गलत गरेको प्रचण्डले बताएका हुन्।
खुमलटारमा भएको पत्रकार सम्मेलनमा उनले श्रेष्ठलाई पार्टीमा आफ्नो फरक मत राख्न अनुरोध गरेको भए पनि उनले नमानेको बताए। श्रेष्ठलाई केन्द्रिय कमिटीको बैठकमा आफ्नो मत राख्ने अधिकार भएको प्रचण्डको भनाइ छ।
उनले महाकाली सन्धीलाई सम्झिँदै एमसीसीको विरोध गर्दैमा माओवादीका कार्यकर्ता नारायणकाजीको पछाडी नजाने बताए। उनले महाकाली सन्धीका बेलामा वामदेव गौतमले विपक्षमा उभिएर पार्टी फुटाएको भए पनि पछि चुनावमा एक सिट पनि नआएको स्मरण गराए।
'मतभेद राख्ने अधिकार हुन्छ पार्टीमा सबैको एक मत त हुन्न। तपाईं केन्द्रीय कमिटीमा राख्नुस भने। उहाँलाई बाहिर नभन्नुस भने। तर उहाँले बाहिर राख्नुभयो। उहाँलाई यसो गर्दा पार्टीका सबै कार्यकर्ता म तिर आउछन् जस्तो लागेको छ। यदि त्यसो भएको भए महाकाली सन्धीमा वामदेव झण्डै आधा कार्यकर्ता लिएर जानुभयो तर पछि चुनावमा एक सिट पनि आएन,'प्रचण्डले भने।
श्रेष्ठले एमसीसी पास गर्ने सुनियोजित षडयन्त्र भएको भन्दै पार्टी नेतृत्वको सार्वजनिक रुपमा आलोचना गरेका थिए। श्रेष्ठले एमसीसी पारित भएको दिनलाई 'कालो दिन' को संज्ञा दिएका थिए।