काठमाडौं : ललितपुर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशमाथि एपीएफले ८ विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रन बनाउँदा डली भट्टले ३६ रन बनाइन्। त्यस्तै कविता कुँवरले अविजित २४ र रेवती धामीले १० रन बनाइन्। एपीएफका लागि सुस्मा श्रेष्ठले २ विकेट लिइन्।
जवाफी ब्याटिङमा उत्रिएको एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक ४३ रन बनाउँदा इन्दु वर्मा २९ रनमा अविजित रहिन्। त्यस्तै कप्तान सीता राना मगरले १९ रन बनाइन्। सुदूरपश्चिमका सम्झना खड्का र लक्ष्मी साउदले समान १ विकेट लिए।
प्रतियोगितामा एपीएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश १, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स ११ गरी ५ टोलीको सहभागिता थियो।