PahiloPost

Jul 3, 2024 | २० असार २०८१

एमसीसी पास भएसँगै वैद्यको टिप्पणी : संसदवादी दल अमेरिकाका मतियार



पहिलोपोस्ट

एमसीसी पास भएसँगै वैद्यको टिप्पणी : संसदवादी दल अमेरिकाका मतियार

काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकार बिच भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्याक्टलाई पारित गराएर संसदवादी दलहरु अमेरिकी साम्राज्यवादको योजनाका विश्वासिला मतियार सावित भएको नेकपा (क्रान्तिकारी माओवादी)का महासिचव मोहन वैद्य किरणले आरोप लगाएका छन्। 

उनले एमसीसी परियोजनालाई पारित गरेसँगै नेपाललाई अमेरिका सुरक्षा छाताभित्र पार्न सफल भएको टिप्पणी गर्दै वक्तव्य मार्फत् भनेका छन् - 'प्रेस-वक्तव्य देशभक्त नेपाली जनताको देशव्यापी विरोध तथा राष्ट्रिय स्वाधीनताका पक्षधर कतिपय सांसदहरुको पूर्ण असहमतिका बाबजुद विभिन्न प्रलोभन, तिगडम, जालझेल, षड्यन्त्र र दमन तथा धरपकडका बिचबाट अमेरिकी सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई गत २०७८ फागुन १५ गते राति नेपालको प्रतिनिधि सभाको बहुमतले अनुमोदन गरेको छ। यसले नेपाललाई आफ्नो सुरक्षा छाताभित्र पार्न, चीनलाई घेरा हाल्नका लागि नेपालमा सैन्य अखडा बनाउन र यहाँको बहुमूल्य राष्ट्रिय सम्पदाको दोहन गर्न अमेरिकी साम्राज्यवादलाई बाटो खोलिदिएको छ।' 

वैद्यले सम्झौतालाई संसदबाट अनुमोदन गराएर नेपालका संसदवादी राजनीतिक पार्टीका नेताहरु देशलाई नवऔपनिवेशिक महाजालमा पार्ने अमेरिकी योजनाका विश्वासिला मतियार साबित भएको आरोप समेत लगाए। 

उनले नाम नलिए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल लगायतलाई अवसरवादीको संज्ञा दिएका छन्।

'कुनै पनि हालतमा संशोधनबिना संझौता अनुमोदन नगर्ने कबुल गर्दै आएका र आफूलाई देशभक्त भएको दावी गर्ने कम्युनिस्ट नामधारी घोर अवसरवादी नेताहरु अमेरिकी साम्राज्यवादको दलाली गर्ने काममा राष्ट्रघातको लामो इतिहास बोकेको नेपाली कङ्ग्रेससँग एक ठाउँमा उभिएका छन,' उनले भनेका छन्, 'अमेरिकाले संझौतामा कनै संशोधन हन नसक्ने करा बारम्बार भन्दै आएको स्थितिमा गरिएको कथित व्याख्यात्मक घोषणा एमसीसी संझौताको अङ्ग हुन सक्दैन।' 

यसअघि वैद्य एमसीसी अनुमोदन रोक्न प्रचण्ड निवास खुमलटारमा पुगेर छलफल गरेका थिए। त्यस छलफलमा प्रचण्डले एमसीसी पारित नगर्ने वचन दिएका थिए। 

वैद्यले १२ बुँदे व्याख्यात्मक घोषणालाई 'अवसरवादी र राष्ट्रघाती दलालहरुको लाज ढाक्ने फाटेको जाल बाहेक केही होइन,' भनेका छन्। 

'यो केही दर्जन सांसदहरु र केही मन्त्रीहरुको जागिर बचाउनका लागि साम्राज्यवादका दलालहरुले राष्ट्रिय स्वाधीनतासँग सौदाबाजी गर्न तयार पारेको पुलिन्दा मात्र हो,' उनले भनेका छन्, 'देशको राष्ट्रिय स्वाधीनता दिन प्रतिदिन अत्यन्त कमजोर बन्दै गएको छ।'

उनले कम्युनिस्ट नामधारी संशोधनवादी पार्टीका नेताहरु र आफूलाई लोकतन्त्रवादी भन्ने नेपाली काङग्रेसका नेताहरुले नै देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली जनताको स्वाभिमानलाई विदेशीको पोल्टामा सुम्पिने काम गर्दै आएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति गोलबन्द भई सङघर्षमा अगाडि बढ्न वैद्यले आह्वान गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell