
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को मिति एकसातापछि सरेको छ। निफको पाँचौ संस्करण चैत १७ गतेदेखि २१ गतेसम्म आयोजना हुने पक्का भएको हो।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा महोत्सव को नयाँ मितिबारे जानकारी दिइएको हो। यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने भनिएको महोत्सवको मिति प्राविधिक कारणका कारण परिवर्तन गरिएको निफका अध्यक्ष केपी पाठकले बताए।
यसवर्षको निफमा ३८ देशका ८९ फिल्महरुबिच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामो, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधामा १४ वटा पुरस्कार दिइनेछ।
‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने यस वर्षको नारा रहेको छ। यो वर्ष नेपाली प्रतिस्पर्धामा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको छ। प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई पचास हजार नगद पुरस्कार प्रदान गरिनेछ।
गतवर्ष कोरोना महामारीको कारण भर्चुअल रुपमा आयोजना भएको निफ यसवर्ष राष्ट्रिय सभा गृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमै सञ्चालन हुनेछ। महोत्सवमा अनुभवी र प्रसिद्ध चलचित्रकर्मीहरुको सहभागितामा विभिन्न कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम समेत हुने बताइएको छ।