PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एमसीसी पारितको विरोधमा गरिएको बन्द नियन्त्रणबाहिर, स्थानीय प्रशासनले सुर्खेतमा लगायो कर्फ्यू



पहिलोपोस्ट

एमसीसी पारितको विरोधमा गरिएको बन्द नियन्त्रणबाहिर, स्थानीय प्रशासनले सुर्खेतमा लगायो कर्फ्यू

सुर्खेतः अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि विरोध स्वरुप विभिन्न ६ वटा राजनीतिक दल र २ वटा मोर्चाहरुले संयुक्त रुपमा आव्हन नेपाल बन्दको क्रममा प्रदर्शन नियन्त्रणबाहिर गएपछि कर्फ्यू लगाइएको छ।

सोमबार साँझ सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिमा बांगेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन दुई दर्जन बढी अश्रुग्यास समेत हानेको थियो। तर, भीड थप उग्र बन्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बिहानैदेखि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको बीच सडकमा टायर बाल्ने, यातायातका साधनलाई आवतजावतमा रोक लगाउने, पसल बन्द गराउने जस्ता काम गरिरहेका बन्दकर्ताहरुले बेलुका ५ बजेदेखि सुरक्षाकर्मीमाथि निरन्तर ढुंगामुढा गर्ने र तोडफोड गरेकाले कर्फ्यू लगाउनु परेको रिजालले बताए।

प्रदर्शनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालय, एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गरेको भन्दै विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र नेपाल कम्युनिस्ट पार्टी लगायतले बन्दको आव्हन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell