रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको अप्रत्यासित स्वभावबारे कोही पनि अपरिचित छैन। पुटिनका सेनाले युक्रेनमा बमबारी गरिरहँदा यो हप्ता बारम्बार सुनिएको शब्द हो, अकल्पनीय!
वास्तवमा भन्ने हो भने यो युद्ध अकल्पनीय थिएन। यसबारे पूर्णतया भविष्यवाणी गरिएको थियो। पुटिनले बारम्बार यसबारे संकेत गरिरहेका थिए। उनको रेकर्डले यस कदमबारे बोलिरहेको थियो।
भनिन्छ, युद्धमा केही पनि अकल्पनीय हुँदैन। पुटिनको आणविक हमलाको चेतावनी पनि अकल्पनीय होइन।
पुटिन सधैँ निर्दयी ‘लिडर’का रुपमा चिनिएका छन्। उनी सधैँ नै लेखाजोखा गरिरहेका हुन्छन्। उनलाई सत्ताशक्तिको बारेमा राम्रोसँग ज्ञान छ र यसलाई कसरी प्रयोग गर्ने भन्ने पनि थाहा छ। यसले कसैलाई अप्ठ्यारो पार्ला कि भन्ने कुराको उनी वास्ता गर्दैनन्।
उनले विभिन्न देशमा आक्रमण गरेका छन्। उनले आफ्ना प्रतिद्वन्द्वीलाई यातना दिनुका साथै जेलमा पनि कोचेका छन्। यदि उनीबारे केही अनुमान गर्न सकिन्छ भने उनको निसन्देहपूर्ण क्रूरताको अनुमान गर्न सकिन्छ। उनी के गर्न जाँदै छन्, भनिरहेका हुन्छन् र त्यो गरेर देखाउँछन् पनि।
पुटिनको दिमाग खुला किताब जस्तै छ, कुनै कुरा गोप्य छैन। उनी एक कट्टर रूसी राष्ट्रवादी हुन् र उनी साम्राज्यवादमा विश्वास गर्छन्। शीतयुद्धको अन्त्य र सोभियत संघको पतनपछि रसियाप्रति पश्चिमाहरुको अपमानविरुद्धको प्रतिशोधले उनलाई निलेको छ।
आणविक हमलाको प्रश्न
युक्रेन आक्रमणपछि पुटिनले आफू घेराबन्दीमा परेको महसुस गरेका छन्। त्यसकारण पनि उनले आफ्ना ‘न्युक्लियर फोर्स’हरूलाई उच्च सतर्कमा रहन भनेका छन्। तर, के उनले ‘न्युक्लियर फोर्स’को साँच्चिकै प्रयोग गर्ने छन् त?
खासमा उनलाई यसको आवश्यकता छैन। जुन उद्देश्यले उनले युक्रेनलाई आक्रमण गरेका छन् यो त्यसको दायराभन्दा बाहिर छ। यो आक्रमण युक्रेनलाई टुक्राउन र यसलाई आफ्नो पाउमा ल्याउन डिजाइन गरिएको हो।
रसियाको बमवर्षक टुपोलेभ यूयु-९५एमएस। रसियासँग योसँगै विश्वकै शक्तिशाली आणविक हतियारहरु छन्।
यो उद्देश्य उनले आफ्नो यथास्थितिको बलले नै पूरा गर्न सक्छन्। रसिया आक्रमणमा परेको छैन। युक्रेनमा नाटो र अमेरिकाको कुनै सेना छैन र यसबारे कुनै प्रतिबद्धता जनाउने उनीहरुको मनसाय पनि छैन।
पुटिनले अस्तित्वको खतराको सामना गर्नुपरेको छैन। रसियाको सैन्य सिद्धान्तलाई ‘रक्षात्मक’ भनेर पनि वर्णन गर्ने गरिएको छ। अहिलेको युक्रेन आक्रमणलाई पनि पुटिनले ‘युक्रेनभित्र रहेका जातीय रसियनहरूको रक्षा’को संज्ञा दिएका छन्।
रसियासँग दुई वटा अवस्थामा आणविक हतियारहरू प्रयोग गर्ने अधिकार सुरक्षित छ : आणविक आक्रमण वा रसिया तथा उसका सहयोगीहरूविरुद्ध सामूहिक विनाशकारी हतियारहरूको प्रयोगको प्रतिक्रियामा र रसियाको अस्तित्व खतरामा परेको अवस्थामा।
पुटिनसँग आक्रमणको लागि ‘फायर पावर’ छ। उसँग विश्वमा सबैभन्दा धेरै ६ हजार बढी परमाणु हतियारहरू छन्।
आणविक युद्धको डर कति वास्तविक हो?
शीतयुद्धको अन्त्यपछि विश्वमा आणविक हतियारको संख्या घटे पनि आणविक युद्धको डर भने हटेको छैन। उत्तर कोरिया जस्ता राष्ट्र पूर्ण रूपमा आणविक हतियार विकसित भएको राष्ट्र बनेका छन्। बेला-बेलामा उनीहरूले यसलाई प्रयोग गर्ने धम्की पनि दिइरहन्छन्। र, उनीहरुसँग अमेरिका वा अष्ट्रेलियासम्म प्रहार गर्ने मिल्ने मिसाइल क्षमता पनि छ।
इरानले आणविक बम प्राप्त गर्न खोजेको आशंका गरिएको छ। नन प्रोलिफेरेसन ट्रिटी (एनपीटी)ले पाँच राष्ट्रहरुलाई आणविक राष्ट्रको मान्यता दिएको छ, जसमा अमेरिका, फ्रान्स, बेलायत, रुस र चीन रहेका छन्।
भारत, पाकिस्तान र उत्तर कोरिया एनपीटीमा संलग्न छैनन्। इजरायलसँग पनि आणविक हतियार भएको बुझिन्छ तर उसले यसको पुष्टि गरेको छैन।
आणविक युद्ध सधैँ अन्तिम निवारकको रुपमा रहेको छ। यो ‘म्युचुअल्ली एस्युर्ड डिस्ट्रक्सन’ (एमएडी) हो अर्थात् तिमीले आफ्नो प्रयोग गर्यौ भने हामी पनि हाम्रो प्रयोग गर्छौं भन्ने पारस्परिक रूपमा सुनिश्चित विनाश हो।
यसैको डरले विश्वका सिमानाहरुलाई आफ्नो स्थानमा कायम थिए, उदाहरणको लागि युद्धरत आणविक सशस्त्र शक्तिहरू, भारत र पाकिस्तान।
पुनः कोरिँदै छ सिमाना
तर, रसिया-युक्रेन द्वन्द्वले त्यो अवस्थालाई परिवर्तन गर्ने देखिएको छ। पुटिनले आफ्नो देशको नक्सा पुन: हेरफेर गर्दै छन्।
दोस्रो विश्वयुद्धमा अमेरिकाले हिरोसिमा र नागासाकीमा खसालेको आणविक हतियारहरू सर्वसाधारणविरुद्ध थियो। कस्तो अवस्थामा सामूहिक विनाशकारी हतियारको प्रयोग गर्ने निर्णय लिने भनेर एक व्यक्तिलाई मात्र थाहा छ तर त्यसबारे बताउन पूर्व अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान जीवित छैनन्।
ट्रुम्यानले मृत्युसम्मै लड्ने वाचा गरेका शत्रुविरुद्धको युद्ध लम्ब्याउने वा अन्त्य गर्ने भन्ने निर्णयको सामना गर्नुपरेको थियो। हामीसँग मात्र उनका शब्दहरू जीवित छन्। हिरोसिमामा बम खसालेपछि एक विज्ञप्तिमा उनले भनेका छन् : अब यदि हाम्रा सर्तहरू स्वीकार गरेनन् भने उनीहरूले आकाशबाट विनाशको वर्षाको आशा गर्न सक्छन्, यस्तो विनाश जुन पृथ्वीमा पहिले कहिल्यै देखिएको थिएन।
ट्रुम्यानले आणविक बम आक्रमणको लागि कहिल्यै माफी मागेनन्। तर, उनले सर्वसाधारणमा भएको विनाशप्रति ‘रिग्रेट’ भने गरे। युद्ध लम्ब्याउने वा अन्त्य गर्ने भन्ने निर्णय लिनुपर्ने परिस्थितिमा आफूले अहिले पनि त्यही निर्णय गर्ने उनले बताएका थिए।
दोस्रो विश्वयुद्ध र आजको अवस्था तुलनायोग्य छैन। तर, भ्लादिमिर पुटिनले अहिले विश्वलाई ‘अलर्ट’मा बस्न बाध्य बनाइदिएका छन्। र, हामीलाई आणविक आक्रमणको सम्भावनाबारे सोच्न पनि बाध्य पारेका छन्।
अब हामी बमका पिता भनेर चिनिने आणविक भौतिकशास्त्री रोबर्ट ओपेनहाइमरका शब्दहरू सम्झन मात्र सक्छौँ।
जुलाई १९४५ मा बमको पहिलो परीक्षण गरेपछि उनले हिन्दू धर्मग्रन्थ भागवत गीतालाई उद्धृत गर्दै भनेका थिए : ‘अब म मृत्यु बनेँ, संसारको विनाशकर्ता बनेँ।’
त्यसको दुई वर्षपछि ओपेनहाइमरले भनेका थिए : ‘भौतिकशास्त्रीहरूले पापको ज्ञान पाएका छन्, र यो ज्ञान उनीहरूले कुनै पनि हालतमा गुमाउन मिल्दैन।’
अहिले अर्को शताब्दी र अर्को युद्धमा हामी अझै पनि सोही पापका बीच बाँचिरहेका छौँ, र सोधिरहेका छौँ: के यस्तो भयावह विनाश फेरि पनि हुन सक्छ?
यसको उत्तर भ्लादिमिर पुटिनले मात्र दिन सक्छन्।
(एबीसीको अनलाइन संस्करणमा प्रकाशित स्टान ग्रान्टको विश्लेषणको भावानुवाद)