PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

आनन्दरामको समर्थनपछि कांग्रेस मकवानपुरको सभपतिमा बुद्ध लामा चयन



निशा गुरुङ

आनन्दरामको समर्थनपछि कांग्रेस मकवानपुरको सभपतिमा बुद्ध लामा चयन

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्। पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेका लामालाई दोस्रो चरणको निर्वाचनअघि दोस्रो स्थान हासिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा मकवानपुर कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्।

कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा, आनन्दराम पराजुलीसहितको बैठकबाट लामालाई सभापति चयन गर्ने निर्णय भएको हो।

केहीबेरमै पार्टी कार्यालयमा बुद्ध लामा सभापति भएको घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ। सोमवार भएको पहिलो चरणको मतदानमा बुद्ध लामाले ५ सय ९२ मत प्राप्त गरेका थिए भने आनन्दराम पराजुलीले ५ सय ४५ मत प्राप्त गरेका थिए। यस्तै अर्का आकांक्षी जयराम लामिछानेले ५ सय ३१ मत प्राप्त गरेका थिए। १ हजार ८ सय ५३ मतदातामध्ये १ हजार ७ सय ७५ प्रतिनिधिले मतदान गरेका थिए।

पहिलो चरणमा सभापति चयन हुन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत  मत प्राप्त गर्न नसकेपछि निर्वाचन समितिले दोस्रो चरणको मतदानका लागि मंगलबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने सूचनासमेत प्रकाशित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell