PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

व्याख्यात्मक टिप्पणीलाई 'एमसीसी दुरुस्त पार्ने भ्याक्सिन'का रुपमा प्रचार भयो : नेकपा एमाले



पहिलोपोस्ट

व्याख्यात्मक टिप्पणीलाई 'एमसीसी दुरुस्त पार्ने भ्याक्सिन'का रुपमा प्रचार भयो : नेकपा एमाले

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा प्रतिनिधिसभामा प्रस्तुत व्याख्यात्मक टिप्पणीलाई भ्रमको खेती भएको बताएको छ।

'गठबन्धनका नेताहरु त्यस घोषणालाई लाली पाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय छन्,' एमालले आज आयोजित पत्रकार सम्मेलनमा जनाएको छ,' दुई सरकार बिच भएको सम्झौता, सहमतिको झन्डै आधा दशकपछि एकतर्फ व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास हो र यो हाँस्यास्पद कुरा हो।'

सत्ता पक्षका केही नेताले व्याख्यात्मक टिप्पणीलाई 'एमसीसी दुरुस्त पार्ने भ्याक्सिन'का रुपमा प्रचार गर्न खोजिरहेको एमालेको टिप्पणी छ।

संसदबाट एमसीसी पास गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेरेको थियो। सिंगो पार्टी संसद अवरुद्ध गर्न जुट्दा एमाले नेता भीम रावलले भने विपक्षमा मत जाहेर गरेका थिए। 

'यो जनतालाई दिग्भ्रमित पार्ने अर्को चालबाजी हो। हामी केही नेताहरुको लत्रिएको जुँगालाई ठाडो पार्ने हतियारका रुपमा संसदीय अभ्यासलाई विकृत पारी दुरुपयोग गरिएकोमा दुखित छौं,' एमाले द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

गठबन्धनका केही दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भड्काउने र जनतामा अन्यौल सिर्जना गर्ने कार्य गर्दैं आए, विशाक्त प्रचारवाजी गरे,' वक्तव्यमा भनिएको छ। 

द्वीपक्षीय विषयलाई भुराजनीतिक  विषयजस्तो बनाइएको एमालेको आरोप छ। 'चौबीस घन्टाअघि उनीहरुले सत्ता छाड्ने तर सहमति नगर्ने पनि भन्न भ्याए। २४ घन्टापछि उनीहरुमा दिव्यज्ञान पलायो र सुरु भयो अर्को स्पष्टिकरणको सिलसिला,' एमालेले भनेको छ।

एमसीसीलाई सत्ता गठबन्धनले एमाले विरुद्धको हतियारका रुपमा प्रयोग गरेको समेत एमालेको भनाई छ।

'यी सबै रंगीविरंगी हरकतको सार एउटै थियो,' एमालेले भनेको छ, 'नेकपा एमालेलाई कमजोर पार्ने र सत्ता टिकाउने।' एमालेले एकातिर सत्ताको लेनदेन गर्ने अर्कातिर आफ्ना नेता कार्यकर्तालाई राष्ट्रवादको नाममा सडकमा उतार्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्न लगाउने र कार्यकर्ता तथा राज्यका सुरक्षा निकायबिचको भिडन्त गराउने दुष्कर्म गराए। यस्तो लबस्तरोपनले उनीहरुको वास्तविक अनुहार उदाङ्गो भएको छ र भ्रमको पर्दा च्यातिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell