PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सुर्खेतमा कर्फ्यू तोड्ने प्रयास, पाँच जना पक्राउ



पहिलोपोस्ट

सुर्खेतमा कर्फ्यू तोड्ने प्रयास, पाँच जना पक्राउ

सुर्खेत : कर्फ्यूको आदेशले सुर्खेतको वीरेन्द्रनगर सुनसान बनेको छ। प्रदर्शनकारीले बन्दको नाममा अराजक गतिविधि, तोडफोड र आगजनी गर्न थालेपछि स्थानीय प्रशासनले सोमवार बेलुकादेखि मंगलवार बेलुकी ७ बजेसम्मका लागि कर्फ्यू लगाएको हो।

बिहानैदेखि वीरेन्द्रनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको विरोधमा सोमवार नेपाल बन्दको आह्वान गरेका राजनीतिक दलका कार्यकर्ताले मंगलवार पनि कर्फ्यू आदेशलाई अवज्ञा गर्ने प्रयास गरेका छन् ।

कर्फ्यू अवज्ञा गर्ने पाँचजनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार मात्रै १८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। प्रदर्शनकारीको ढुंगामुडाले सर्वसाधारण दुई जना सहित ८ जनाप्रहरी घाईते भएको घर्तीले बताए।

कर्फ्यू आदेश कार्यान्वयनका लागि वीरेन्द्रनगरको मुख्यबजार, मंगलगढी चोक, एरिचोक, पार्टी कार्यालय लगायतका चोक र सार्वजनिक स्थलहरुमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।

सोमबार बेलुका कांग्रेस, एमाले र माओवादीका कार्यालयहरुमा तोडफोड र आगजनीको प्रयास भएको थियो।

शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी पारित गरेको भन्दै विरोधमा नेत्र विक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल लगायतले गरेको बन्दकाक्रममा सोमवार दिनभर जसो यातायातका साधन र बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारीले सोमवार बेलुका ५ बजेपछि उग्र हुँदै पार्टी कार्यालयहरुमा तोडफोड र आगजनीको प्रयास गरेका थिए।

आक्रमणबाट कांग्रेस पार्टी कार्यालयको झ्यालको सिसाहरु फुटेको छ भने, गेटमा क्षति पुगेको छ। माओवादी केन्द्र र एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेको भएपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि ठूलो क्षति हुन नपाएको डिएसपी घर्तीले बताए।

त्यस्तै, कांग्रेस पार्टी कार्यालयसँगै रहेको सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा राखिएको डिस्प्ले बोर्ड फुटाएको र मंगलगढी तथा एरिचोकस्थित एक-एक वटा प्रहरी विट समेत जलाएको उनले जानकारी दिए।

प्रर्दशनकारीले गरेको तोडफोड र आगजनीबाट भएको क्षतिको सम्पूर्ण विवरणको मुचुल्का बनाउन लागिएको र त्यसपश्चात क्षतिको विवरण आउने प्रहरीको भनाई छ ।

दुईजना सर्वसाधारण घाईते

प्रर्दशनकारीले प्रहार गरेको ढुंगामुडाबाट सोमबार दुई जना सर्वसाधारण घाईते भएका छन्। वीरेन्द्रनगर नगरपालिका–६ काहोटल व्यवसायी ३८ वर्षीय रणबहादुर डांगीको टाउकोमा गहिरो चोट लागेको छ भने शाही खाजा घरकी १२ वर्षीया बालिकाको तीन वटा दाँत झरेको छ।

घाईते डांगीलाई स्थानीय देउती अस्पतालमा प्राथमिक उपचारपछि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो। घाईते डांगीको टाउकोमा लागेको चोट जटिल भएकाले प्रदेश अस्पतालले नेपालगंज मेडिकल कलेजमा रिफर गरेकोमा त्यस अस्पतालले पनि उपचार गर्न नसक्ने भएपछि अन्नपूर्ण न्युरो अस्पताल काठमाण्डौ रिफर गरेको छ। अहिले घाइते डांगीको उपचार भईरहेको पत्नितुलसा डांगीले जानकारी दिईन्। त्यस्तै, बालिकाको माया नर्सिङ होममा उपचार भईरहेको डिएसपी घर्तीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell