PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्यो : एमसीसी संसदबाट पास भयो, राष्ट्रहित प्रतिकूल नहुनेगरी कार्यान्वयन होस्



पहिलोपोस्ट

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्यो : एमसीसी संसदबाट पास भयो, राष्ट्रहित प्रतिकूल नहुनेगरी कार्यान्वयन होस्

काठमाडौं : नेकपा एमालेले एमसीसी परियोजना सम्बन्धी सम्झौता संसदबाट पास भइसकेको भन्दै राष्ट्रको हित प्रतिकूल नहुनेगरी कार्यान्वयन हुनुपर्ने जनाएको छ। 

एमसीसीको विषयमा आज पत्रकार सम्मेलन गर्दै एमालेले एमसीसीको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेको हो।

'एमसीसी प्रकरणमा गठबन्धनमा रहेका केही पार्टीका गलत चालबाजी र उनीहरुबाट प्रकट भएका घातक प्रवृत्तिबाट मुलुकलाई मुक्त पार्न आवश्यक छ,' एमाले अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ, 'ती दलहरुसँग आस्थाका कारण भावना जोडिएका निर्दोष कार्यकर्ताहरु अझै हुनुहुन्छ। सङ्कृण राजनितिक स्वार्थका लागि भ्रमको पर्दा खडा गरेर आफ्ना कार्यकर्तालाई बारम्बार दुरुपयोग गर्ने नेतृत्वबाट सचेत रहँदै बलियो राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्नका लागि हाम्रो पार्टी त्यस्ता कार्यकर्ता तथा सदस्यहरुलाई आह्वान गर्दछ।'

एमालेले प्रष्ट शब्दमा सम्झौता गरिसकेपछि कार्यन्वयनमा लाग्‍नुपर्ने जनाएको हो। कुनै पनि बाह्य सहायताको सम्झौतापूर्व यथेष्ठ ध्यान दिनुपर्ने बताउँदै सम्झौता गरिसकेपछि कार्यान्वयनतर्फ लाग्‍नुपर्ने एमालले जनाएको छ। 

प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको नेकपा एमालेले खुलेर एमसीसीको विषयमा कुनै पक्ष लिएको थिएन। संसद अवरुद्ध पारिरहेको एमालेले एमसीसी पास गर्ने प्रकृयामा आफूलाई उपस्थित गराएको थिएन। सत्तारुढ गठबन्धनको एकमुष्ठ धारणा खोजिरहेको एमालेले आज भने एमसीसीको पक्षमा आफ्नो औपचारिक धारणा प्रस्तुत गरेको हो।

'सरकार भनेको राज्यका तर्फबाट अधिकारप्राप्त अविच्छिन्न उत्ताराधिकारवाला संस्था हो। एउटा सरकारले दातृ राष्ट्र वा निकायसँग गरेको सहमति वा सम्झौता अर्को सरकारले उपयुक्त कारण वा प्रक्रियाविनै रद्ध गर्ने हो भने त्यस्ता राष्ट्रपति विश्वासको संकट उत्पन्न हुन्छ,' एमालेले भनेको छ।

 

व्याख्यात्मक टिप्पणीलाई 'एमसीसी दुरुस्त पार्ने भ्याक्सिन'का रुपमा प्रचार भयो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा प्रतिनिधिसभामा प्रस्तुत व्याख्यात्मक टिप्पणीलाई भ्रमको खेती भएको बताएको छ।

'गठबन्धनका नेताहरु त्यस घोषणालाई लाली पाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय छन्,' एमालले आज आयोजित पत्रकार सम्मेलनमा जनाएको छ,' दुई सरकार बिच भएको सम्झौता, सहमतिको झन्डै आधा दशकपछि एकतर्फ व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास हो र यो हाँस्यास्पद कुरा हो।'

सत्ता पक्षका केही नेताले व्याख्यात्मक टिप्पणीलाई 'एमसीसी दुरुस्त पार्ने भ्याक्सिन'का रुपमा प्रचार गर्न खोजिरहेको एमालेको टिप्पणी छ।

संसदबाट एमसीसी पास गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेरेको थियो। सिंगो पार्टी संसद अवरुद्ध गर्न जुट्दा एमाले नेता भीम रावलले भने विपक्षमा मत जाहेर गरेका थिए। 

'यो जनतालाई दिग्भ्रमित पार्ने अर्को चालबाजी हो। हामी केही नेताहरुको लत्रिएको जुँगालाई ठाडो पार्ने हतियारका रुपमा संसदीय अभ्यासलाई विकृत पारी दुरुपयोग गरिएकोमा दुखित छौं,' एमाले द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

गठबन्धनका केही दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भड्काउने र जनतामा अन्यौल सिर्जना गर्ने कार्य गर्दैं आए, विशाक्त प्रचारवाजी गरे,' वक्तव्यमा भनिएको छ। 

द्वीपक्षीय विषयलाई भुराजनीतिक  विषयजस्तो बनाइएको एमालेको आरोप छ। 'चौबीस घन्टाअघि उनीहरुले सत्ता छाड्ने तर सहमति नगर्ने पनि भन्न भ्याए। २४ घन्टापछि उनीहरुमा दिव्यज्ञान पलायो र सुरु भयो अर्को स्पष्टिकरणको सिलसिला,' एमालेले भनेको छ।

एमसीसीलाई सत्ता गठबन्धनले एमाले विरुद्धको हतियारका रुपमा प्रयोग गरेको समेत एमालेको भनाई छ।

'यी सबै रंगीविरंगी हरकतको सार एउटै थियो,' एमालेले भनेको छ, 'नेकपा एमालेलाई कमजोर पार्ने र सत्ता टिकाउने।' एमालेले एकातिर सत्ताको लेनदेन गर्ने अर्कातिर आफ्ना नेता कार्यकर्तालाई राष्ट्रवादको नाममा सडकमा उतार्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्न लगाउने र कार्यकर्ता तथा राज्यका सुरक्षा निकायबिचको भिडन्त गराउने दुष्कर्म गराए। यस्तो लबस्तरोपनले उनीहरुको वास्तविक अनुहार उदाङ्गो भएको छ र भ्रमको पर्दा च्यातिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell