PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

पल समर्थकलाई अभिनेत्रीहरुको जवाफ : अपराधको पक्षमा नबोलौं



पहिलोपोस्ट

पल समर्थकलाई अभिनेत्रीहरुको जवाफ : अपराधको पक्षमा नबोलौं

काठमाडौं : अभिनेता पल शाहविरुद्ध एक नाबालिग गायिकाले उजुरी दिएसँगै नेपाली मनोरञ्जन क्षेत्र तरंगित छ। पीडित गायिकाले पलविरुद्ध आफूलाई पटक-पटक करणी गरेको जाहेरी दर्ता गरेपछि मनोरञ्जन क्षेत्र विभाजित पनि देखिएको छ।

केही दिन फरार रहेका पल यतिखेर तनहुँ प्रहरी हिरासतमा छन्। यस्तोमा फिल्म क्षेत्रमा धेरै जना पलको पक्षमा खडा भएको देखिन्छ। अभिनेत्री करिश्मा मानन्धरदेखि पूजा शर्मा पलकै समर्थनमा खुलेका छन्। पल र पूजाको मुख्य भूमिका रहेको 'म यस्तो गीत गाउँछु २' प्रदर्शनमा छ।

पलको तारिफ गरेर थाकेकी छैनन् पुजा। उनी पल आरोपित हुँदा समेत उनकै फोटो अकिंत टिसर्ट लगाएर खुलेआम हलहलमा पुगेकी थिइन्। पलले न्याय पाउनुपर्ने तर्क उनको छ।

पलको समर्थनमा बोल्ने कलाकारमध्ये नाबालिगको चरित्रमाथि नै प्रश्न उठाउने पनि धेरै भेटिए। यस घटनाले कला तथा मनोरञ्जन क्षेत्रको सिंगो मानसिकतालाई खुइल्याइदिएको छ। पीडित गायिकाभन्दा आरोपित पलको संरक्षण गरेको भनेर आलोचना समेत भइरहेको छ।

यसैबिच, अभिनेत्री रेखा थापा पीडित गायिकाको पक्षमा बोलेकी छिन्। फेसबुकमा एक स्टाटस राख्दै रेखाले पीडित गायिकाको पक्षमा वकालत गरेकी हुन्। २० वर्षमुनिका छोरीहरुमा सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार रहेको उनको तर्क छ।

‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन्, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो। कोसँग लभ छ? कति पटक यौनसम्पर्क भयो? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनु हुँदैन,’ उनले लेखेकी छिन्।

साथै, छोरी मान्छेको मामिलामा नेपालमा नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा व्यास्त रहेको उनको भनाइ छ।

यस्तै, अभिनेत्री ऋचा शर्माले पनि पीडितको पक्षमा बोलेकी छिन्। कानुनमा १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार नै भएको उनले फेसबुकमा लेखेकी छिन्।

‘कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौँ नि। हैन र? १८ वर्षमुनिकाको सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ। अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो,’ उनले लेखेकी छिन्।

नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या नगर्न र कानुनको सम्मान गर्न समेत उनले अनुरोध गरेकी छिन्।

उनले भनेकी छिन्, ‘नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न।’

त्यसैगरी, अभिनेत्री सुरक्षा पन्तले पनि पीडितको पक्षमा फेसबुकमा लेखेकी छिन्। उनले पनि पीडितलाई समर्थन जनाउँदै कानुनलाई काम गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell