PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ओलीले 'हिरो' भन्दै आलोचना गरेपछि भीम रावलको जवाफ : मन पोलेको भए आफैँ महा हिरो हुनुस्



पहिलोपोस्ट

ओलीले 'हिरो' भन्दै आलोचना गरेपछि भीम रावलको जवाफ : मन पोलेको भए आफैँ महा हिरो हुनुस्
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधवार आफूमाथि गरेको टिप्पणीको जवाफ फर्काएका छन्।

पत्रकार सम्मेलनमा ओलीले भीम रावल पार्टी नीति विपरीत गएर 'हिरो'हुन खोजेको आरोप लगाएका थिए। रावलले ओलीको आक्षेपको एकदिनपछि बुधवार देशको हितमा बोलेर महाहिरो हुन सुझाए।

प्रतिनिधि सभामा नेकपा एमालेले अवरोध गरेका बेला भीम रावलले भने संसदीय प्रक्रियामा भाग लिदैँ मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरोध गरेका थिए। पार्टीको निर्णय विपरीत गएको भन्दै ओलीले रावलको आलोचना गरेका थिए।

उक्त टिप्पणीबारे रावलले जवाफ फर्काउँदै ट्वीट गरेका हुन्।

'राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले हिरो हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर महाहिरो हुनुभएको भए म खुशी नै हुनेथिएँ,' रावलले लेखेका छन्, 'देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया।' 

के भनेका थिए ओलीले?

हिजो रावललाई पार्टीले के गर्छ? भन्दै पत्रकारले सोधेको प्रश्नको जवाफमा ओलीले रावलका गतिविधि पार्टी अनुशासन विपरीत भएको बताएका थिए।

उनले रावललाई कारवाही हुनसक्ने संकेत पनि गरेका थिए।

'आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्‍ने त्यस खालका कुरा, काम कारबाही र विचार कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरूद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन्,' ओलीले भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell