काठमाडौं : अभिनेता पल शाह प्रकरणले यतिखेर नेपाली मनोरञ्जन क्षेत्र तरंगित छ। पल शाहविरुद्ध एक नाबालिग गायिकाले उजुरी दिएपछि पल तँनहु प्रहरी हिसासतमा छन्। यो घटनापछि मनोरञ्जन क्षेत्र विभाजित पनि देखिएको छ।
यसैबिच पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पलको पक्षमा बोलिरहेकाहरुलाई जवाफ दिएकी छिन्। इनस्टाग्राम स्टोरीमार्फत उनले एक वयस्क व्यक्तिले नाबालिगमाथि यौनसम्बन्ध राख्नु कानुन विपरित रहेको भन्दै अपराधीको पक्षमा नबोल्न आग्रह गरेकी छिन्।
'मलाई अझै विश्वास लागिरहेको छैन कि मानिसहरुले एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका आरोपितलाई समर्थन गरिरहेका छन्। त्यो सम्बन्धले किशोरीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने तपार्ईंले कल्पना गर्न सक्नुहुन्छ? हो उनी जताततै अन्तर्वार्तामा देखिएकी छिन्। तर यसको मतलब यी सबै कुरा बुझ्न उनी परिपक्व भएकी छैनन्।'
यो घटनाबाट नेपालीहरुमा चेतनाको निकै कमी भएको देखिएको उनले बताएकी छिन्। नाबालिगसँगको यौन सम्बन्धबारे बनेका कानुनबारे बुझ्न समेत उनले अनुरोध गरेकी छिन्।
‘उसले यस्तै चाहन्थिइन भन्नुहुन्छ भने तपाई पीडकलाई साथ दिँदै हुनुहुन्छ। यदि नाबालिगले नै यसो गर्न चाहेकी हुन् भने ‘हुन्न’ भन्ने वयस्कको काम काम हो। किनभने निर्णय लिनेमा उमेरले पीडित सानी छिन्। जबकी शाह उनीभन्दा धेरै नै उमेरका थिए' उनले लेखेकी छिन्।
यो घटनाबाट सम्पुर्ण नेपालीहरुले पाठ सिक्न जरुरी रहेको उनको तर्क छ। 'अहिले पनि धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका जीवनसाथीसँग यौनसम्बन्ध स्थापित गरिरहेका छन् जसले उनीहरुको जीवनमा गहिरो घाउ बनाइदिएको हुन्छ। त्यसैले यस्ता कानुन बनाइएको हो। यस्ता कानुनले नाबालिग 'किशोर किशोरी' लाई फाइदा उठाउन खोज्नेहरुबाट बचाउन्छ।'