PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एमसीसी कचमचको चपेटा : के अर्को विभाजन सामना गर्न तयार हुन् प्रचण्ड?



प्रकाश भण्डारी

एमसीसी कचमचको चपेटा : के अर्को विभाजन सामना गर्न तयार हुन् प्रचण्ड?

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै माओवादी केन्द्रका शीर्ष नेताबिच खटपट सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसमीसी अनुमोदन गर्न सघाएको भन्दै नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेललगायत नेताले प्रश्न उठाएका छन्।

अनुमोदन अघिसम्म नारायणकाजी समूहका नेताले माओवादी कुनै हालतमा एमसीसीलाई पारित गराउने पक्षमा नलाग्ने ठोकुवा गरेका थिए। तर उनीहरुको दाबी लत्याउँदै प्रचण्ड पक्षधरले 'व्याख्यात्मक घोषण'मा सहमति जनाए र एमसीसीलाई अनुमोदन गर्नुपर्ने निर्णय गरे।

२०७८ असोज १३ मा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसीको मुख्यालयलाई गोप्य पत्र लेखेका थिए। त्यतिबेलादेखि नै एमसीसीको विषयलाई लिएर असन्तुष्ट बनेका माओवादी नेताहरु अहिले प्रचण्डसँग झनै चिढिएका छन्। माओवादी केन्द्रकै सहयोगमा सरकारले प्रतिनिधि सभाको फागुन १५ गतेको बैठकबाट एमसीसीलाई अनुमोदन गरायो। पार्टीको ८ औं महाधिवेशनले एमसीसीलाई यथास्थितिमा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो। पार्टीको निर्णयलाई कुल्चिएर प्रचण्डले आफू अनुकूल निर्णय गरेको नारायणकाजी समूहको आरोप छ।

विवादले पुर्‍याउँला विभाजनसम्म?

नारायणकाजी समूहका नेताका अनुसार एमसीसीबारे पार्टीभित्र सुरुदेखि नै दुई धार देखिएको थियो। अहिलेको विवादले पार्टीमा थप ध्रुबिकरण बढाउने संकेत गरेको छ। एमसीसीले नेपाली समाजमा जसरी विभाजन बढायो, पार्टीमा पनि यस्तै देखिएको श्रेष्ठ निकट नेता गिरिराजमणि पोखरेल बताउँछन्। 'एमसीसीले नेपाली समाजमा तरंग ल्याएको छ। ध्रुबिकरण भएको छ। मतभेद भएको छ। समाजमा त्यसको प्रतिबिम्ब हाम्रो पार्टीमा पनि छ,' उनले भने।

श्रेष्ठले 'व्याख्यात्मक घोषणा'लाई सुनियोजित भ्रम भएको टिप्पणी गरेपछि माओवादीभित्रको विवाद सतहमा आएको हो। श्रेष्ठको विरोधलाई काउन्टर दिँदै प्रचण्डले दिएको अभिव्यक्तिले पार्टीको विवाद झनै बढेको नेता पोखरेलको बुझाइ छ।

प्रचण्डले आफूहरुलाई पार्टी छाडे पनि हुने भनेर अभिव्यक्ति दिएको विवादले विभाजनसम्म लैजानसक्ने उनले संकेत गरे। 'अध्यक्षको हामीलाई पार्टी छोडे पनि हुन्छ भन्ने आशयको अभिव्यक्ति थियो। महाकाली सन्धिमा वामदेवले लिएको निर्णयलाई पनि उहाँले तुलना गर्नुभयो,' पोखरेलले भने। 

नारायणकाजीलाई बिझाउने प्रचण्डको त्यो बोली

प्रचण्डले सोमवार गरेको पत्रकार सम्मलेनलाई श्रेष्ठ पक्षधरले महत्वका साथ हेरेको छ। एमसीसी पारित गर्ने पार्टीको निर्णयको आलोचना गर्ने नेताहरुप्रति प्रचण्ड सम्मेलनमा कडा रुपमा प्रस्तुत भएका थिए।

'बाहिर नबोल्नुस् भनेर भनेको थिए तर उहाँ (नारायणकाजी) बाहिर जानु भयो। उहाँलाई लाग्यो होला यो भनेपछि सबै कार्यकर्ता म तिर आउछन्। उहाँले त्यसो नगर्दा राम्रो हुने थियो। महाकाली सन्धिमा राष्ट्रघात भयो भनेर वामदेव गौतम केन्द्रीय कमिटीको झण्डै आधा नेता/कार्यकर्ता लिएर जानुभयो तर भोट आउने बेलामा जिरो। त्यसैले कोही सेण्टिमेण्टमा आउनु जरुरी छैन,' प्रचण्डले भनेका थिए।

पार्टीको निर्णयको विरोधमा श्रेष्ठले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए।

'अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे। आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पूर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं,' श्रेष्ठले ट्वीटमा भनेका थिए। नारायणकाजी श्रेष्ठको उक्त अभिव्यक्तिपछि प्रचण्ड आक्रामक भएको उनी निकट नेताहरु बताउँछन्।

'चुनाव नजिक भएकाले विभाजन हुन्न'

एमसीसी विवादले पार्टीलाई विभाजनसम्म लैजाने संकेत देखिएको असन्तुष्ट नेताहरुले बताइरहँदा प्रचण्ड निकट नेता हरिबोल गजुरेलले भने विभाजनसम्म नपुग्ने दाबी गरे। चुनाव नजिक भएकाले पनि असन्तुष्टि विभाजनको तहसम्म नपुग्ने उनको तर्क छ। भने, 'के विभाजन होला र चुनावको बेला? विवादलाई व्यवस्थितसँग केन्द्रीय कमिटीको बैठकमा राख्ने हो। अहिले पार्टी विवाद विभाजनमा जाँदैन,' उनले भने।

प्रचण्डको सचिवालयले पनि एमसीसीसम्बन्धी विवाद फागुन २० गतेका लागि तय भएको केन्द्रीय कमिटीले हल गर्ने जनाएका छन्। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, 'बाहिर त्यसरी नभने हुन्थ्यो भन्ने अध्यक्षको धारणा थियो। उहाँ(नारायणकाजी)ले अलिकति बाहिर बोल्नुभयो। सबै  कुरा केन्द्रीय कमिटीको बैठकमा आउँछ।'

पटकपटकको विभाजनले माओवादी केन्द्र कमजोर अवस्थामा छ। कृष्णबहादुर महरा, नारायणकाजी लगायतका नेताहरुले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरुसँग एकताका लागि वार्ता गरेको भए पनि त्यो सम्भव भने भएन। सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्रको एकतालाई बदर  गरेसँगै दुबै पार्टी पुरानै अवस्थामा फर्किएका थिए।

त्यसयता प्रचण्डले पूर्वमाओवादी घटकहरुसँग सहकार्यको प्रस्ताव गरेको भए पनि प्रचण्डको कार्यशैलीलाई कारण पार्टी एकता गर्न पूर्व माओवादीहरु तयार भएनन्। बरु, प्रचण्डसँग तर्कँदै माओवादीकै नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरु फागुन २३ पछि एमालेमा लागे। माओवादी नेताहरुका अनुसार प्रचण्डले चुनावको मुखमा श्रेष्ठको समूहलाई पार्टीबाट अलग हुन दिने छैनन्। त्यसका लागि उनले श्रेष्ठसँग लेनदेन गर्न सक्ने बताइन्छ।

विप्लव - नारायणकाजी वार्ताले बढाएको आशंका

प्रचण्डसँगको विवाद चुलिएपछि श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दसँगको संवादलाई अघि बढाएका छन्। एमसीसीको एजेण्डाले एक ठाउँमा  पुगेका श्रेष्ठ र चन्दले बुधवार वार्ता गरे। श्रेष्ठ निकट नेताहरुका अनुसार एकताको प्रस्ताव गरेर विप्लवले श्रेष्ठलाई भेटेका थिए।

जसलाई प्रचण्ड निकट नेताहरुले भने श्रेष्ठले पार्टीबाट अलग हुन विप्लवसँग वार्ता गरेको आरोप लगाइरहेको छ। त्यसो त विप्लवलाई भेट्नुअघि नै मंगलवार प्रचण्ड आफै श्रेष्ठलाई भेट्न पुगेका थिए। उक्त भेटमा दुई नेताबिच हार्दिकतापूर्ण रुपमा संवाद हुन नसकेको श्रेष्ठ निकट एक नेताले बताए। 'अध्यक्षलाई नारायणकाजीले हामीलाई पार्टीबाट अलग हुनुस् भनेर भन्नुभएको हो भनेर सोध्नुभएको छ,' उनले भने।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चरम अवस्थामा पुगेका बेला पार्टीभित्र प्रचण्डको बलियो बचाउमा उत्रिने गरेका श्रेष्ठ पछिल्लो समय भने प्रचण्डसँग असन्तुष्ट रहँदै आएका थिए।

प्रचण्ड  -  नारायणकाजी खटपट नयाँ होइन

माओवादी केन्द्रभित्र हाल मुख्यगरी दुई धार छ। जसमा एक पक्षको नेतृत्व अध्यक्ष प्रचण्डले गरिरहेका छन् भने अर्को समूहलाई नारायणकाजीले। श्रेष्ठको पक्षमा गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, अन्जना विसंखेलगायतका नेताहरु खुलेरै लागेको देखिन्छन्।

अहिले माओवादीभित्र एमसीसी विरोधी कित्तामा रहेका नेताहरुसमेत श्रेष्ठसँगको संवादमा रहेको बताइन्छ। एमसीसीलाई माओवादीभित्र चर्कोसँग आलोचना गर्ने नेताका रुपमा महरा, देव गुरुङ, लेखनाथ न्यौपाने आदिलाई पनि लिइन्छ।

सोमवारको पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीसँग एमसीसीको विरोधमा रहेका सबै नेता नजिक नभएको बताएका थिए। गुरुङले एमसीसीको विरोध गरेको भए पनि अहिले आफैँसँग रहेको प्रचण्डले प्रष्टिकरण दिए।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि नारायणकाजीले नेतृत्व गरेको नेकपा एकता केन्द्र माओवादीमा मिसिएको थियो। त्यसयता प्रचण्ड-श्रेष्ठबिच सहकार्य र संघर्षको सम्बन्ध अघि बढ्दै गएको छ। माओवादी जनयुद्धताका अधिकांश शीर्ष नेताहरुले प्रचण्डलाई छोडिसक्दा शान्ति प्रक्रियापछि माओवादीसँग एकता गरेका श्रेष्ठले हालसम्म प्रचण्डलाई साथ दिइरहेका छन्।

अब विभाजन कि बार्गेनिङ?

माओवादीमा नेतृत्वबारे विवादमा जहिले श्रेष्ठको नाम पनि चर्चामा आउने गरेको छ। माओवादीमा 'सेकेन्ड म्यान' मानिने उनी ८ औं महाधिवेशनका बेलामा पनि प्रचण्डसँग बार्गेनिङमा रहे। माओवादीले विवाद मिलाउन वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको र त्यसमा नारायणकाजीलाई सर्वमसम्मत बनाउने गृहकार्य भएको त्यतिबेला माओवादी वृतमा चर्चा थियो।

एक पूर्व स्थायी कमिटी सदस्यका अनुसार माओवादीमा प्रचण्डसँग डिल गर्ने नेताका रुपमा पछिल्लो समय नारायणकाजीलाई लिने गरिएको छ। देउवा नेतृत्वको सरकारमा माओवादी सहभागी हुँदा पनि श्रेष्ठले पार्टीको नेतृत्व गरेर सरकारमा जान चाहेको बताइएको थियो। तर पछि उनी सरकारमा सहभागी हुने रेसबाट बाहिरिए। महाधिवेशनका बेलामा पनि प्रचण्डले आफूलाई अध्यक्षमा अघि सार्नेबाहेकको पदाधिकारी चयन गराउन सकेनन्।

पार्टीभित्रको भागबण्डालाई लिएर बेलाबेला प्रचण्डले आफ्नै नेताहरुबिरुद्ध आक्रामक अभिव्यक्तिसमेत दिने गरेका छन्। जसको पछिल्लो उदाहरण बनेको छ श्रेष्ठलाई काउण्टर दिँदै प्रचण्डले सार्वजनिक गरेको धारणा। एमसीसी र प्रचण्ड बोलीलाई देखाएर श्रेष्ठ समूह बाहिरिन्छ या बार्गेनिङ गर्छ भन्ने थाह पाउन कम्तिमा पनि २० गतेको केन्द्रीय कमिटीको बैठकसम्म पर्खनुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell