PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

संस्थापन विभाजित हुँदा मकवानपुर कांग्रेसमा इतर पक्ष हाबी



निशा गुरुङ

संस्थापन विभाजित हुँदा मकवानपुर कांग्रेसमा इतर पक्ष हाबी

हेटौँडा: संस्थापन पक्ष विभाजित हुँदा नेपाली कांग्रेस मकवानपुरमा इतर पक्ष हाबी भएको। बुधबार सार्वजनिक पदाधिकारीको अन्तिम परिणाममा कूल ६ जनामध्ये ५ जना इतर पक्षले जितेको हो।

जिल्ला अधिवेशनको मुखमा संस्थापन पक्ष विभाजन हुँदा इतर समूहलाई फाइदा पुगेको हो। अधिवेशनका सन्दर्भमा वडादेखि क्षेत्रसम्म एक ढिक्का भएर अगाडि बढेको संस्थापन जिल्ला सभापतिको विषयलाई लिएर विभाजित भएको थियो।

मकवानपुरमा संस्थापन पक्षको एक समूहको नेतृत्व केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र अर्को समूहको नेतृत्व पार्टी वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका थिए। तर, बानियाँ र डिना दुवैले मतदान प्रक्रियामा भाग लिएनन्।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट बानियाँको प्रभाव जिल्लाको संगठनमा बढी छ। तर, सभापतिको सवालमा बानियाँले बुद्ध लामा र डिनाले आनन्दराम पराजुलीलाई अप्रत्यक्षरुपमा समर्थन गरेका थिए। संस्थापनमा पदका आकांक्षी धेरै भए पनि बानियाँको ‘निर्देशन’मा मात्र उम्मेद्वार बन्न खोज्दा हालको अवस्था सिर्जना भएको विश्लेषण गरिएको छ।

मकवानपुरमा संस्थापनको नेतृत्व लामा र पराजुलीले गरेका थिए भने इतर पक्षको नेतृत्व जयराम लामिछानेले गरेका थिए। पदाधिकारीतर्फ कुल १ हजार ७७१ मत गणना हुँदा उपसभापतिमा इतर पक्षका आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन्। कठायतले ६११ र  लामिछानेले ६०६ मत प्राप्त गरेका थिए। उनीहरुले उपसभापतिमा उम्मेद्वार रहेका गोपीलाल बिश्वकर्मा, रामबाबु बानियाँ, भीम लामा, रमेश गिरी र चन्द्रबहादुर पौडेललाई पराजित गरे।

विश्वकर्माले ५४२ मत पाउँदा बानियाँले ४८७ मत पाए भने लामाले ४६३, गिरीले ३५३ र पौडेलले ८२ मत प्राप्त गरे। सचिवमा पनि इतरका उम्मेद्वार विजयी भएका छन्।

इतर पक्षबाट उम्मेद्वार रहेका भीमसेन महत ८१३ र ईश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भएका हुन्। उनीहरुले संस्थापन पक्षका यतिराज सापकोटा, अर्जुनप्रसाद चौलागाईंले, प्रदीप कोइराला र मानबहादुर पाटामगरलाई पराजित गरे।

सचिवका उम्मेद्वार सापकोटाले ५४८ मत पाउँदा चौलागाईंले ३९७ मत, कोइरालाले ३६८ मत र मगरले २५० मत पाए।

सहसचिवमा भने संस्थापन पक्षबाट एक जना र इतरबाट एक जना विजयी भएका छन्। सहसचिवमा संस्थापनइतर पक्षबाट इन्दिरा न्यौपाने र संस्थापनबाट ताराचन्द्र बजगाईं विजयी भएका छन्। न्यौपानेले ८५० मत र बजगाईंले ५६२ मतसाथ जित हात पारेका हुन्।

उनीहरुले सहसचिवका उम्मेद्वार मीरा स्यांतान, रत्नबहादुर गोले, अर्जुनप्रसाद तिवारी, कृष्णप्रसाद दाहाल र सुमन कार्कीलाई पछि पार्दै जित हासिल गरेका हुन्। निर्वाचनमा स्यांतानले ५२० मत, गोलेले ४१४ मत, तिवारीले ३६२ मत, दाहालले २६९ मत र कार्कीले १२६ मत प्राप्त गरेका थिए।

कांग्रेस मकवानपुर सभापतिमा संस्थापन पक्षका उम्मेद्वार बुद्ध लामा सर्वसम्मत् चयन भइसकेका छन्।

आइतबार सुरु निर्वाचन प्रक्रिया अन्तर्गत् सभापतिका ३ मध्ये कुनै उम्मेद्वारले ५१ प्रतिशत् मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन प्रक्रियामा पुगेको थियो। दोस्रो चरणका लागि संस्थापन पक्षका दुई उम्मेद्वार लामा र पराजुलीबीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा भएको छलफलबाट भद्र सहमति गर्दै सभापतिमा लामालाई चयन गरिएको थियो।

पदाधिकारीमा इतर समूह बलियो भएपछि सभापति निर्वाचित लामालाई आफ्नो कार्यकाल सञ्चालन गर्न सकस हुने नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell