काठमाडौं : समाज रुपान्तरणले धेरै फड्को मारे पनि 'खेले पढाइ बिग्रिन्छ' भन्ने अभिभावक अझै देखिन्छन्। नेपाली समाजमा पहिले यो आम धारणाको रुपमा थियो।
तर, समाजको यो साधारण धारणामा अट्दिनन्, ज्योति पाण्डे।
हालै सम्पन्न ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेकी ज्योति पढाइसँगै क्रिकेटको प्यासनलाई अघि बढाउँदै छिन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी उनको सपना छ विश्वकप पुग्ने। मास्टर्स इन बिजनेस एड्मिनिस्ट्रेसन (एमबीए) गरिरहेकी उनी सशस्त्र प्रहरी बल (एपीएफ) की सदस्य हुन्।
प्रतियोगितापछि उनलाई प्रहरी क्रिकेटर र बिजेनसमा मास्टर्स एकैसाथ अलि अनौठो सुनिएन र? भनेर प्रश्न गर्दा प्रतिप्रश्न गरिन्, 'अनौठो सुनियो र?'
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा गत सोमबार सम्पन्न ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा आफ्नो टोलीलाई जित दिलाउन सर्वाधिक रन बनाइन्। खेलपछि तीन विधामा पुरस्कार पाइन्। फाइनल खेलको उत्कृष्ट खेलाडी, प्रतियोगिताको उत्कृष्ट खेलाडी र प्रतियोगिताको उत्कृष्ट ब्याटर बनिन्।
राष्ट्रिय प्रतियोगिताहरुमा विभागीय टोली एपीएफबाट खेल्ने ज्योतिले उक्त प्रतियोगितामा ५ खेलमा सर्वाधिक अविजित ५६ रनसहित कुल १५५ रन जोडिन्।
- प्रदेश १ विरुद्ध २३ रन
- सुदूरपश्चिमविरुद्ध ११ रन
- ललितपुर मेयर्सविरुद्ध ५६ रन
- लुम्बिनी प्रदेशविरुद्ध अविजित २२ रन
- सुदूरपश्चिमविरुद्ध ४३ रन
यो ब्याटिङको आँकडा हो मेयर्स कपमा।
प्रतियोगितामा राम्रो प्रदर्शन गरेकोमा उनी मक्ख सुनिइन्, 'प्रतियोगिता राम्रो थियो। सबै राम्रो भयो। आशा गरेजस्तो ब्याटिङ पनि भयो।
+++
घर विराटनगर। पारिवारिक माहोल क्रिकेटकै थियो। उनका बुवा प्रदीपराज पाण्डे नेपाली टिमकै सहायक प्रशिक्षक थिए। अहिले छोरीले क्रिकेटमा राम्रो गरिरहँदा खुशी छन् प्रदीप पनि। उनी छोरीले क्रिकेट र पढाइ सँगै लिएर जाओस् भन्ने चाहन्छन्। ज्योति पनि घरको ‘एक्सपेक्टेशन’ पूरा गर्ने लक्ष्यमा छिन्।
'बुबाले राष्ट्रिय महिला टोली र उमेर समूहमा पनि काम गर्नुभयो। अहिले मेरो करिअर देखेर खुशी हुनुहुन्छ। तर, अझ धेरै आशा राख्नुहुन्छ,' उनी भन्छिन्, 'बुबाले मलाई पढाइ पनि सँगै लैजानुपर्छ भन्नुहुन्थ्यो। जसले गर्दा सँगसँगै लैजान सकेँ।'
क्रिकेटमा उनको रुचि पछि मात्रै बढेको हो। सुरुमा उनी टेबलटेनिस र ब्याडमिन्टन जस्ता खेल खेल्थिन्। पछि महिला क्रिकेट टिमबारे जानकारी पाइन् र त्यही क्षेत्रमा प्रवेश गरिन्। बुबा क्रिकेटकै प्रशिक्षक भइदिँदा उनलाई ‘प्लस प्वाइन्ट’ भयो।
'विराटनगरमा मैले खेल्न थाल्दा पुरुष टिम राम्रो थियो। महिला टिमले पनि क्रिकेट खेल्छ भन्ने थाहा पाएपछि म क्रिकेटमा आएकी हुँ,' उनले भनिन्, 'घरमा पनि क्रिकेटको माहोल हुँदा क्रिकेटमा लाग्न सजिलो भयो। अर्को कुरा, त्यहाँ भर्खर केटीहरुको क्रिकेट सुरु हुँदैथ्यो। लहान, झापाका टिम आउँथे। हाम्रो विराटनगरको टिम पनि हुन्थ्यो। पछि त राष्ट्रिय खेलमा पनि सहभागी हुन थालियो।'
उनलाई क्रिकेटमा ‘इन्सपायर’ गर्ने खेलाडी हुन् भारतीय क्रिकेटर मिथाली राज। 'म उनको गेम धेरै हेर्थें। बुबाले क्रिकेट प्रतियोगिताका सीडी लिएर आउनुहुन्थ्यो। म टाइमपासका लागि ती हेर्थें,' उनले भनिन्, 'त्यसबेला केटीको टिम खासै हुँदैन थियो। केटीको टिमको सुरुवातमै विराटनगर थियो कि?'
उनले सन् २०१६ मा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरिन्। तर, राष्ट्रिय टिमको क्याम्पमा भने यसअघि नै स्थान बनाउँदै आएकी थिइन्। 'त्योभन्दा अघि पनि क्याम्पसम्म चाहिँ पुग्थेँ अनि आउट हुन्थेँ। तर हरेक पटक केही सिकेर जान्थेँ,' उनी भन्छिन्।
क्रिकेटमा बलियो स्थान बनाउँदै गरेकी उनी हाल एमबीए तेस्रो सेमेस्टर पढ्दै छिन्। उनलाई खेलकुदमा अघि बढ्न पारिवारिक वातावरणले धेरै सहयोग गर्यो। नत्र त अधिकांश महिला खेलाडीले खेलकुदमा लाग्न पहिलो लडाइँ नै समाजसँग लड्नुपर्छ।
'निरुत्साहित गर्ने आवाज मैले समाजको सुन्नुपरेन। म एपीएफमा आइहालेँ। विभागमा हुँदा सजिलो हुन्छ,' उनले भनिन्।
नेपालमा पहिलाभन्दा अहिले महिला क्रिकेटका प्रतियोगिता बढेका छन्। तर बाह्रै महिना खेलाडी व्यस्त भएको अवस्था भने छैन। यद्यपि यसले उनका लागि पढाइलाई निरन्तरता दिन सहज बनाएको छ।
'बाहिरको जस्तो सधैं ट्रेनिङ हुन्न। त्यसले गर्दा नि मैले समय पाएकी छु,' उनले भनिन्।
अनि करिअरको सपनाबारे कुरा गर्दा धेरै सोचिनन्, फ्याट्ट भनिदिइन्, 'संन्यासअघि विश्वकप खेल्ने।'
(सबै तस्बिर : CAN)