PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

मधेशमा शुरु भयो कांग्रेस अधिवेशन, गुटभित्रै चर्को प्रतिस्पर्धा



राधेश्याम पटेल

मधेशमा शुरु भयो कांग्रेस अधिवेशन, गुटभित्रै चर्को प्रतिस्पर्धा

वीरगन्ज : यतिबेला मधेश प्रदेशमा पर्सादेखि सप्तरीसम्म नेपाली कांग्रेसको जिल्ला अधिवेशन सुरु भइसकेको छ। कतै उम्मेदवारी दर्ता भइसकेको छ भने कतै एउटै गुटभित्रै सभापतिमा को लड्ने भनेर तीव्र प्रतिस्पर्धा चलिरहेको छ।

फागुन १८ (हिजो) देखि २३ गतेसम्म प्रदेशका सबै जिल्लामा जिल्ला अधिवेशन सकाउने भनिए पनि सर्लाहीको दुई वडाको अधिवेशन बाँकी रहेकाले उक्त जिल्लाको अधिवेशन केही दिन पछि धकेलिने सम्भावना छ।

आठ वटा जिल्ला भएको मधेश प्रदेशको पर्सामा सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ। संस्थापन पक्षबाट पूर्व जिल्ला विकास सभापति जनार्दनसिंह क्षेत्री र इतरपक्षबाट श्याम पटेलबीच प्रतिस्पर्धा हुनेछ।

पर्सामा आज मतदान हुने निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी गराए।

त्यसैगरी, बारामा २० गते उम्मेदवारी दर्ता र २१ मा मतदानको कार्यतालिका सार्वजनिक भएको छ। बारामा संस्थापन पक्षबाट दुई जना र एकजना इतर पक्षबाट गरी जिल्ला सभापतिको दौडमा तीन जना उम्मेदवारको चर्चा छ। त्यसमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव पनि छन्।

रौतहटमा संस्थापन पक्षका सुनिल यादव (जितेन्द्र) र इतर पक्षका हृदयनारायण यादवबीच प्रतिस्पर्धा हुने बताइएको छ। २० गते उम्मेदवारी र २१ मा यहाँ चुनाव हुने कार्यतालिका छ।

सर्लाही जिल्ला सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह (देउवा गुट) र रामचन्द्र पौडेल गुटका लक्ष्मण रायले उम्मेदवारी दिने चर्चा छ। उम्मेदवारीबारे सहमति जुटाउन जिल्ला तहका नेताहरु छलफलमा रहेको कांग्रेस मधेश प्रदेश संयोजक रमेश रिजालले बताए। उनका अनुसार २२ गतेपछि अधिवेशनको कार्यतालिका आउने सम्भावना छ।

महोत्तरीमा आजै चुनावी कार्यतालिका छ। यहाँ जिल्ला सभापतिको दौडमा बजरंगी नेपाली, नागेश्वर यादव र सुशील यादव छन्।

धनुषामा जिल्ला अधिवेशनका लागि आज उम्मेदवारी दर्ता र २३ गते मतदान हुनेछ। धुनषामा संस्थापन पक्षबाट देउवा खेमाका सन्तोष यादव, संस्थापन इतर निधि खेमाका योगेन्द्र पञ्जियार ‘योगी’ र इतर पक्षकै शेखर कोइराला खेमाका दिनेश ब्रतौला यादवले उम्मेदवारी दर्ता गराउने तयारी छ।

सिरहामा २० गते उम्मेदवारी दर्ता हुनेछ। सिरहामा संस्थापन पक्षकै रामचन्द्र यादव र रामसुन्दर चौधरीबीच प्रतिस्पर्धा हुने जनाइएको छ। त्यसैगरी, संस्थापन पक्षका शत्रुघन यादव र इतर पक्षबाट रामदेव साहले उम्मेदवारी गराएका छन्। यहाँ भोलि २० गते चुनाव हुनेछ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका रिजालले मधेश प्रदेशमा संस्थापन पक्षले बहुमत ल्याउने दाबी गरेका छन्। आफूहरु पनि बहुमत ल्याउने कसरतमै लागिरहेको इतरपक्षका पर्साका नेता अरविन्द गुप्ताले बताए।

पार्टीको १४औं महाधिवेशन मंसिरमा सम्पन्न भए पनि मधेश प्रदेशसहित १६ जिल्लामा अधिवेशन हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell