काठमाडौँ : काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहयोग गरेको छ।
महानगर प्रखुम प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे। हस्ताक्षरपछि प्रमुख शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
गत कात्तिक १६ गते बसेको महानगरको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख उपलब्ध गराउने निर्णय गरेको थियो। 'आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेको देखेर यसलाई माथिल्लो तहसम्म पुर्याउन हामीले लगानी गरेका हौँ,' प्रमुख शाक्यले भने।
नेपाल भाषा स्नातक तहमा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले माग गर्दै आएका छन्। 'विगत केही वर्ष सञ्चालन भएका कक्षा पछि विद्यार्थी नभएपछि कार्यक्रम रोकियो, तीन वर्षअघि २५ विद्यार्थीले अध्ययन गर्न पाउनुपर्ने माग राख्नै निवेदन दिएका थिए,' क्याम्पस प्रमुख ज्ञवालीले भने।
अहिले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण, दुई शिक्षकलाई तलब, पुस्तकालय निर्माण र प्रशासकीय काममा खर्च हुनेछ। रासस