बुटवल : बुटवलको चौराहा-गोलपार्क सडकखण्ड विस्तारका लागि २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो। २०७६ असोज १२ गतेसम्म सम्पन्न गर्नेगरी सो ठेक्का सम्झौता भएको हो।
तोकिएको समयमा निर्माण नसकिएपछि आगामी २०७९ असार ३० गतेसम्मको मिति थपियो। तर, विडम्बना यो थपिएको म्यादमा पनि निर्माणकार्य पूरा हुने छनक देखिएको छैन।
करिब चार किलोमिटर सडक विस्तारका लागि पाँच वर्ष समय लागेको भएपनि पूरा भएको छैन। ठेक्का स्वीकृति र कार्यादेशलगायतका प्रक्रिया पूराएर सूचना प्रकाशित भएलगत्तै सडक क्षेत्राधिकारमा पर्ने घरधनीहरुले मुद्दामामिला सुरु गरे।
पटक-पटक अदालत धाउँदा झण्डै तीन वर्षसम्म अदालती झन्झटमा समय बित्यो। बल्लतल्ल गत पुसमा अदालतले विस्तारका लागि बाटो खुला गराइदियो।
तर, त्यसपछि पनि सडक निर्माणको ठेक्का पाएको द कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौंले कोरोना कहर र लगातारको झरीले काममा समस्या भएको भन्दै काममा ढिलासुस्ती र लापरबाहीलाई निरन्तरता दियो। ठेकेदारलाई पटक-पटक ताकेता गर्दा अहिले विस्तारको काम दुवैतर्फका नाली बनाउँदै अति सुस्त गतिमा अगाडि बढेको छ।
‘भेरिएसन अर्डर’ (भिओ) स्वीकृत भएसँगै कामले गति लिने अपेक्षा गरिएपनि त्यसअनुरुप नभएपछि ठेकेदारलाई फेरि अन्तिम पटकका लागि ताकेता गराउने तयारी छ।
बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर जयलाल मरासिनी, आयोजना हेर्ने इन्जिनियरहरु र ठेकेदार कम्पनीका इन्जिनियरसमेत सहभागी भई पुनः सर्वपक्षीय छलफल भएको छ। उक्त छलफलमा अन्तिम पटकका लागि ताकेता गर्ने र फेरि ढिलासुस्ती गरे कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएको सडक डिभिजन कार्यालय प्रमुख मरासिनीले जानकारी दिए।
पहिले सडक विभागले ‘भेरिएसन अर्डर’ स्वीकृत नगर्दा भुक्तानीको प्रक्रियामा ढिलाई भएपछि काममा बाधा पुगेको गुनासो आएको थियो। त्यो काम पूरा भएपनि काममा तीब्रता नदिएपछि उपमहानगरमा छलफलको आयोजना गरी अन्तिम पटक ताकेता गर्ने निर्णय गरिएको उनले बताए।
पहिलो चरणमा, नाला, पानी सप्लाइका पाइपलाइन विस्तार र फुटपाथसँगै कल्भर्ट निर्माणको काम सुरु भएपनि ढिलो भइरहेको छ।
‘अब ठेकेदारले कुनैपनि बहाना बनाएर सडक विस्तारको काम रोक्ने ठाउँ छैन। काम समयमै सम्पन्न गराउन नागरिकस्तरबाटै दबाब र त्यसले नभए कानुनी कारबाहीको आवश्यकता छ,’ कार्यालय प्रमुख मरासिनीको भनाइ छ।
ठेक्का सुरु भएलगत्तै मुद्दामामिला
ठेक्का सुरु भएलगत्तै मुद्दामामिला सुरु भएपछि करिब तीन वर्षसम्म काम अबरुद्ध भएको थियो। यसबिचमा सडक डिभिजन कार्यालय र यहाँका जनप्रतिनिधिको अगुवाइमा सडक विस्तारका काममा समन्वय तथा प्रमाण जुटाउने काम भयो।
अदालतमा पटक-पटक मुद्दा परेपछि अवरुद्ध भएको काम पछि फेरि कोरोनाको कहरले समेत अगाडि बढ्न सकेन। लामो समयपछि सर्वोच्च अदालतले २०७७ पुस २० गते काम कारबाही अगाडि बढाउन आदेश जारी गरेपछि विस्तारको काम अगाडि बढाउने बाटो खुल्यो। तर, निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा कामले रफ्तार लिन सकिरहेको छैन।
स्थानीय कुनै पनि पालिकाले ठेक्काबन्दोबस्ती भइसकेका कुनैपनि माथिल्ला आयोजनामा काम गर्न पाउँदैन। राष्ट्रिय राजमार्ग विस्तार र मर्मतको काम संघीय सरकारको हो।
सार्वजनिक खरिद ऐनको यस्तो प्रावधान बुझ्दा बुझ्दै र राजमार्ग विस्तारको काम संघीय सरकार मातहतको हो भन्ने बुझेर पनि अपजसको तिर उपमहानगरका जनप्रतिनिधिमा परेको छ।
५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपैयाँ ३७ पैसा लागतको सडक निर्माणका लागि ठेकेदारले हालसम्म १० करोड ८० लाख रुपैयाँ भुक्तानी लगेको छ। २०७३ चैत १७ चार करोड, २०७४ असार २८ गते १३ लाख, २०७५ जेठ २ गते दुई करोड १३ लाख, २०७५ असोज १६ गते दुई करोड रुपैयाँ भुक्तानी भइसकेको बताइएको छ।
निर्माण व्यवसायीलाई २०७६ पुस २० गतेदेखि नै निरन्तर ताकेता गरिएको छ। कार्यालयमा फाइलिङ गरिएका पत्रका आधारमा मात्रै पनि बीस पटकसम्म ताकेता गराइसकिएको छ।
जिल्ला प्रशासन कार्यालयमा बुटवलका जनप्रतिनिधि, सडक डिभिजन कार्यालयका प्रमुख, इन्जिनियरसमेत गरी कैयौंपटकसम्म बैठक बसेर ताकेता गरिएको छ।
१०९ स्थानमा संरचना हटाउन अटेरी
यस सडक खण्डका कतिपय घरधनीले अदालतको आदेशको अटेरी गर्दै अहिले पनि संरचना हटाएका छैनन्। करिब एक सय ५० स्थानमा त्यस्ता संरचना रहेको र हटाउन ताकेता गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर सुभेच्छा सारुले बताइन्।
२५० स्थानमा रहेका संरचना सबै हटाइसकिएको र अझै एक सय ९ स्थानमा रहेका संरचना हटाउन बाँकी रहेको इन्जिनियर सारुको भनाइ छ।
नालीको काम ८० प्रतिशत पूरा
नाली निर्माणको काम ८० प्रतिशत पूरा भएको र बाँकी काम पनि तीब्र रुपमा अगाडि बढाउने प्रतिबद्धता दोहोराएका छन्। उनले केही दिनमै पुष्पलालचोक र चौराहाको गोलचक्करबाट निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता गरेका छन् भने कानुनी कारबाहीलाई यहाँका जनप्रतिनिधिले सडक डिभिजन र निर्माण कम्पनीलाई फेरि सचेत बनाएका छन्।