
काठमाडौं : सत्तारुढ गठबन्धनको बैठकमा प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको अवरोधलाई हटाउने विषयमा छलफल भएको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न सहयोग गरेको भन्दै नेताहरुलाई धन्यवाद दिएका थिए।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताए। 'विकसित राजनीतिक घट्नाक्रमका बारेमा अब गठबन्धन दलहरुको के भूमिका रहने भन्नेबारेमा छलफल भयो। लामो समयदेखि संसद सञ्चालन हुन सकेको छैन। अवरुद्ध भएकोले हवाइ उड्यनजस्ता विधेयक अघि बढ्न सकेको छैन। यसबारे पनि छलफल भयो,' प्रवक्ता कार्कीले भने।
जेठ १५ भित्रै बजेट प्रस्तुत गर्नुपर्ने भएकाले त्यसबारेमा पनि नेताहरुबिच छलफल भएको उनको भनाइ छ। एमालेको अवरोध निरन्तर भएकाले संसदबारे नै जनतामा नकारात्मक धारणा बन्ने खतरा रहेकोबारे पनि नेताहरुले धारणा राखेका थिए।
'चाँडै बजेट प्रस्तुत गर्ने समय आउँछ। जेठ १५ मै बजेट प्रस्तुत गर्ने संविधानमा व्यवस्था छ। लामो समयसम्म संसद अवरुद्ध हुँदा यसप्रति नकारात्मक धारणा बन्न सक्छ,' कार्कीले भने। एमसीसीबारे राष्ट्रिय जनमोर्चाको गठबन्धनको भन्दा फरक धारणा भए पनि सरकारलाई दिएको समर्थन यथावत भएकाले जनमोर्चा पनि गठबन्धनमै रहेको उनको दाबी छ।
एमसीसी पारित गराएका दलहरुले कार्यान्वयनमा पनि मिलेर अघि बढ्नुपर्ने भन्दै दलहरुलाई सहकार्यमै रहन देउवाले आग्रह गरेका छन्।
'एमसीसी अनुमोदनपछि अन्तराष्ट्रियमा नेपालको विश्वसनियता बढेको छ। जसरी एमसीसी अनुमोदन गर्नका लागि एक ठाउँमा उभिएका छौ। यो मेलम्ची जस्तो बनाउन सक्दैनौँ। ५ वर्षमा कम्पि्लट गर्नुपर्छ। यसको जुन लक्ष्य छ त्यसलाई पुरा गर्न सहकार्य आवश्यकता छ,' उनले भने।