PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

नारायणकाजीको गृहकार्य : माओवादी केन्द्रमै रहने कि अलग हुने?



पहिलोपोस्ट

नारायणकाजीको गृहकार्य : माओवादी केन्द्रमै रहने कि अलग हुने?

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूपक्षीय नेतासँग लगातार दुई दिन छलफल गरेका छन्। फागुन २० गतेका लागि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकअघि बुधवार र बिहीवार श्रेष्ठले आफू निकट केन्द्रीय कमिटी सदस्यहरुलाई आफ्नो निवास हात्तीवन बोलाएर लगातार दुईदिन छलफल गरेका हुन्।

उनी निकट नेता गिरिराजमणि पोखरेलले एमसीसीका विरुद्ध पार्टीभित्र सुरु भएको विवादबारे छलफल भएको बताए।

'छलफल हुनु, भेटघाट हुनु त सामान्य हो नि। अहिले नै केही निष्कर्ष निस्किएको छैन्,' उनले भने। अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाको फागुन १५ गतेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास गराउन सहयोग गरेको भन्दै श्रेष्ठ पक्षले असन्तुष्टि जनाइरहेको छ। माओवादी शान्ति प्रक्रियामा आएपछि एकता भएको एकता केन्द्रका नेतासँग श्रेष्ठले संवाद गरिहेका छन्। माओवादी केन्द्रमै रहेर संघर्ष गर्ने या अलग हुने भन्ने विषयमा श्रेष्ठ पक्षले छलफल तीब्र पारेको भए पनि निर्णयमा भने पुगेको छैन्।

एमसीसीको विषयलाई लिएर आफ्नो समूहलाई श्रेष्ठले सक्रिय बनाउँदा अध्यक्ष प्रचण्डले श्रेष्ठसँग प्रचण्डले लगातार भेट गरिरहेका छन्।

मंगलवार, बुधवार र बिहीवार प्रचण्डले श्रेष्ठलाई भेटेका थिए। उक्त भेटमा प्रचण्डले एमसीसी सम्बन्धि फरक मतलाई केन्द्रीय कमिटीमा राख्‍न र पार्टीबाट अलग नहुन अनुरोध गरेका थिए।

'प्रकाशले अध्यक्ष कमरेडलाई भेट्नुभएको छ। त्यसमा पनि धेरै कुराहरु भएका छन्,' पोखरेलले भने।

एमसीसीकै चर्को विरोध गरिरहेका माओवादी केन्द्रका अर्का नेता लीलामणि पोखरेलले अहिले पार्टीबाट अलग हुने कुरा नउठेको बताए।

'अध्यक्षले भनेको कुराबारे म अहिले टिप्पणी गर्न चाहन्न। एमसीसीबारे देशव्यापी रुपमा उठिरहेका कुरा केन्द्रीय कमिटीमा नउठ्ने कुरै छैन,' उनले भने।

सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसीबारे असन्तुष्टि पार्टी बाहिर लगेको भन्दै श्रेष्ठको आलोचना गरेका थिए। श्रेष्ठ पार्टीबाट अलग भए पनि नेता कार्यकर्ता उनको साथमा नजाने प्रचण्डको भनाइ थियो। प्रचण्डको उक्त अभिव्यक्तिले आफूहरुलाई गम्भीर अवस्थामा पुर्‍याएको श्रेष्ठले बताइरहेका छन्।

यता नारायणकाजीले एमसीसीको विरुद्धमा उत्रिएका दलका नेताहरुसँग पनि छलफल तीब्र पारेका छन्। बुधवार श्रेष्ठले आफ्नै निवासमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दसँग भेट गरेका थिए। उनीहरु बिच एमसीसीका विपक्षमा रहेका नेताहरु बिच मोर्चाबन्दी गर्नेबारे छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell