PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पल शाह प्रकरणमा भीड भड्काउँदै 'कलाकार' : कानुन कुल्चिँदै प्रदर्शन, रमिते बन्दै प्रहरी र प्रशासन



सविन ढकाल

पल शाह प्रकरणमा भीड भड्काउँदै 'कलाकार' : कानुन कुल्चिँदै प्रदर्शन, रमिते बन्दै प्रहरी र प्रशासन

काठमाडौं : कलाकार पूजा शर्मा र निर्देशक शोभित बस्नेत बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँ पुगे। उनीहरू पुग्ने सुइँको केहीले पाइसकेका थिए। युट्युबमा 'मनिटाइज' गर्न पल्किएकाहरु देखि लाइक र भ्यूज बटुल्ने होडमा मानिसहरु त्यहाँ पुग्नेक्रम बढ्यो। रिलमा देखिने कलाकारलाई रियलमा देख्न  पाउने लोभले पनि मानिसहरु तनहुँतिर तानिए। भिड देखेपछि खुल्दुली मेट्न त्यही भिडमा थपिनेहरु पनि हुने नै भए।

दुई कलाकार जिल्ला प्रहरी कार्यालय तनहुँ पुग्दा जम्मा भएको भिड एकाएक उत्तेजित भयो। प्रहरीको हिरासतमा रहेका अभियुक्त पूर्ण विक्रम शाह उर्फ पल शाहको पक्षमा नाराबाजी सुरु भयो - 'पल शाहलाई रिहा गर', 'जस्टिस फर पल शाह'। 

भिडले निर्देशित गरेपछि पूजा शर्मा र शोभित बस्नेतले हात उठाएर सम्बोधन गर्दै प्रहरी कार्यालयतिर हानिए। उनीहरुको सम्बोधन भिड भड्काउन पर्याप्त थियो। अभियुक्तको पक्षमा नाराबाजीसँगै … मुर्दावादका नारा पनि गुञ्जिए। 

केही दिनदेखि तनहुँको प्रहरी कार्यालय अगाडि जारी छ यस्तै दृश्य जुन पूजा र शोभित पुग्दा थप चर्कियो। पूजा शर्मा पहिलेदेखि नै पल शाहको पक्षमा बोल्दै आएकी छिन्। व्यापारका लागि अपराधको ढाकछोप गर्न उनी पछि परेकी छैनन्। अनुसन्धान प्रभावित पार्ने गरी लगातार बोल्दै आएकी छिन् उनी। कानुनी व्यवस्थालाई अटेरी गर्दै उनले दिएका अभिव्यक्ति सोसल मिडियामा भाइरल भइरहेको छ। ती अभिव्यक्तिमा पीडित किशोरीमाथि औला ठड्याइएको छ। यतिसम्म कि शर्माले बलात्कारको आफ्नै परिभाषा समेत दिन भ्याइरहेकी छिन्। 

'यो त सोच्नु पर्ने म (पीडित किशोरी) अहिले सानै छु।  पलले यो लुगा आएर च्यात्ने, जबर्जस्ती करणी गर्ने केटा जस्तो लाग्दैन मलाई। अहिलेसम्म कुन चाहिँ कुरालाई बलात्कार भन्ने कुरा बुझेकै छैन,' उनका अभिव्यक्ति यस्तैयस्तै सुनिन्छ।

मुलुकी अपराध संहितामा १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमा पनि यौन सम्पर्क गर्नु नहुने प्रष्ट लेखिएको छ। अन्यथा कानुनी कारवाहीको व्यवस्था किटानका साथ तोकिएको छ। तर, कलाकारले यस्तो अभिव्यक्ति दिएका छन् जसले उनीहरुको 'फेम'सामु कानुन अर्थहीन हो। यस्तै, आफू अनुकूल परिभाषा दिने कलाकारको तनुहँ प्रहरी कार्यालय अगाडि भिड छ।

यतिखेर पल शाहले अपराध गरेको हो या होइन भन्ने अनुसन्धान परको विषय, प्रहरी आफ्नै कार्यालय अगाडि लागेको भिड व्यवस्थापनमा खटिनुपरेको छ। युट्युबले स्थापित गरेका पात्रहरुको कारोबारको थलो बनेको छ तनहुँ जिल्ला प्रहरी कार्यालय। त्यहाँ शर्मादेखि पुण्य गौतमसम्मका पात्र आफ्नो 'धन्दा'का लागि पुगेका छन्। कलाकार जय किसन बस्नेत पनि अहिले त्यही भिडमा भेटिन्छन्। 'जस्टिस फर पल शाह' भन्दै भिडलाई उचालिरहेका छन् उनी पनि।

तनहुँको उक्त ठाउँमा कुनबेला कुन कलाकार पुग्छ थाहा छैन्। त्यसैले रिलका मानिसलाई रियलमा देख्नो चाहनेहरु ढुकेर बसेका छन्।

अभिनेताबाट अभियुक्तमा रुपान्तरित शाहलाई भेटेर फर्किएपछिको कमेन्ट लिन युट्युबर लर्को लगाएर बसेका छन्। यही भिडमा टिकटक बनाउने पनि उतिकै छन्। यहाँको दृश्य देख्दा लाग्छ - बलात्कार कुनै मुद्दा नै होइन।

पल शाहमाथि १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जवर्जस्ती करणी गरेको आरोप छ। उनीविरुद्ध किटानी जाहेरी नै परेको छ। यस्तो अवस्थामा केही कलाकारको हर्कत यस्तो देखिएको छ जसले - कानुन गलत पल शाह ठीक भन्ने धारणा बनाउन मद्दत गरिरहेको छ। यहाँ पुगेकाहरु कानुनभन्दा भिडकै बलमा जित निकाल्न चाहिरहेका छन् - न्याय परको विषय बनिरहेको छ।

यतिसम्म कि पीडित किशोरीको नाम लिएर मुर्दावाददेखि फाँसी दिनुपर्ने सम्मका नाराबाजी चलिरहेको छ। सेलिब्रिटीको नाङ्गो हस्तक्षेपमा प्रहरी अलमलिएको छ। भिड पन्छाउन र अनुसन्धान अगाडि बढाउने प्रक्रियामा प्रहरीको कदम फितलो सावित भइरहेको छ।  

'कानुनले गलत भनेको कुरा भइरहेको छ। कानुनको बर्खिलाप गएर भिड भइरहेको देखिन्छ। यसको नियन्त्रण गर्नु स्थानीय प्रशासन र प्रहरीको हो। तर त्यहाँ त्यसो भएको देखिँदैन,' नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले भने।

पीडित किशोरीको उमेर १८ वर्षभन्दा कम हुनासाथ बालबालिका सम्बन्धी ऐन २०७५ आकर्षित हुन्छ। ऐनको दफा ११ मा गोपनीयताको अधिकार रहेको छ। जसमा पीडित बालबालिकाको नाम, थर र ठेगान लगायतका पहिचान खुल्ने विवरण गोप्य राख्नुपर्ने व्यवस्था छ। तर, प्रहरी कार्यालय अगाडि भएको भिडले पीडितको नै नाम उच्चारण गरेर विपक्षमा नारा जुलुस गरिएको छ। त्यसविरुद्ध पनि प्रहरीको निरिहता देखिन्छ।

जिल्ला प्रहरी कार्यालयमा अन्य काम पनि  प्रभावित भएको छ अहिले। अरु कामले पुग्नेहरु असहज अवस्थामा छन्। प्रहरीले अहिले भिड नियन्त्रण गर्नमात्र प्रहरी खटाएको छ। गैर कानुनी गतिविधि भइरहँदा त्यसविरुद्ध प्रहरी परिचालन भइरहेको छैन। 

'प्रहरीलाई डर पनि छ। युट्युवबाट कुनै भिडियो गए पब्लिकमा चाँडो पुग्छ। फेरी प्रहरीले बल प्रयोग गर्‍यो भन्दै केही मानवअधिकारकर्मी पनि प्रहरी विरुद्धमा नै उत्रिन्छन्। प्रहरीलाई बचाउ गर्ने निकाय र माथिल्लो तह पनि चुप बस्छ। यसले भिड निर्देशित अवस्था आउन सक्छ,' पूर्व डीआईजी मल्लले भने।

तनहुँ प्रहरी कार्यालय अगाडि भएको अनावश्यक भिडका बारे जिल्ला प्रशासन कार्यालयले पनि मौनता साँधिरहेको छ। प्रशासनलाई जे भइरहेको छ गलत भएको भन्ने थाहा नभएको भने होइन।

'यो गलत नै हो। त्यस्ता गतिविधिसँग सचेत नै छौं। त्यसैले प्रहरी कार्यालय अगाडिको भिड केही पर सार्न भनेका छौँ,' तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले भन, 'अहिले त यस्तो भिड केही कम हुँदै पनि गएको छ।' 

यसरी चिनिएका कलाकार, टिकटक सेलिब्रिटी तथा युट्युबले परिचित गराएका मानिस भिडमा पुगेर तथ्यहीन र गैर कानुनी विषयलाई एकतर्फी रूपमा प्रचारित गरिरहेका छन्। 

'शान्ति नभड्किएसम्म हामीले केही गर्न मिल्दैन। तर, सामाजिक सञ्जालमा आएका र बोलेका केही कुरालाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार समेत गरेका छौँ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भने।

जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि शाह पक्राउ पुर्जी जारी भएको पाँच दिनपछि प्रहरी नियन्त्रणमा आएका थिए। जिल्ला प्रहरी कार्यालय तनहूँले अहिले अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। शाहको बयान देखि अन्य घटनाको प्रमाण संकलन गर्न प्रहरी जुटिरहेको छ। तर, भिड निर्देशित भएर यस्तै गतिविधि जारी रहने भने हो - कानुन उस्तै हो, भिडको राजले अनुसन्धान निर्देशित नगर्ला भन्न सकिन्न। नेपालमा धेरै अपराधहरु यस्तै भिड निर्देशित हुँदा टुंगोमा पुगेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell