कैलालीः धनगढीमा बिहीबारदेखि पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ। भारतीय टोली दिल्ली फुटबल क्लबमाथि २–१ को पुनरागमन जित निकाल्दै मनाङले विजयी सुरुवात गरेको हो।
धनगढी रङ्गशालामा भएको खेलको ६७औँ मिनेटमा कृष्ण पण्डितले गोल गर्दै दिल्लीलाई अग्रता दिलाएका थिए। तर, ७७औँ मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई खेलमा फर्काए। यस्तै, खेलको ८०औँ मिनेटमा विमल रानाले गोल गरेपछि मनाङले २–१ को जित निश्चित गर्यो।
सुदूरपश्चिम ११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता छ। आयोजक सुदूरपश्चिम ११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, वाग्मती यूथ क्लब, न्यूरोड टिम र मच्छिन्द्र फुटबल क्लब छन्।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ।