PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भीम रावलदेखि नारायणकाजीसम्म किन पुगे विप्लवको कित्तामा!



प्रकाश भण्डारी

भीम रावलदेखि नारायणकाजीसम्म किन पुगे विप्लवको कित्तामा!

काठमाडौँः नेकपा (माओवादी केन्द्र) मा 'रडाको' छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता प्रतिनिधि सभाले फागुन १५ गते अनुमोदन गरेपछि पार्टी लाइनविरुद्ध छन् नेता नारायणकाजी श्रेष्ठ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र श्रेष्ठबीचको विवाद विभाजनसम्मै जान सक्ने आशंका माओवादी वृत्तमा छ। श्रेष्ठले पार्टीमा एमसीसीको विपक्षमा रहेका नेताहरूसँग लगातार संवाद गरिरहेका छन्।

उनले आफू निकटहरूसँग बुधबार र बिहीबार छलफल गरेका थिए। फागुन २० गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा एमसीसीविरुद्ध श्रेष्ठ समूहका नेताले चर्को गरी आफ्नो मत राख्नेछन्।

प्रचण्डसँग मतभेद, विप्लवसँग संवाद

पार्टीबाटै अलग हुने चेतावनी दिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई आफ्नो मत केन्द्रीय कमिटीमा राख्न र पार्टीबाट अलग नहुने आग्रह गरेका थिए। नारायणकाजी र प्रचण्डबीच मंगलबार, बुधबार र बिहीबार छलफल भएको थियो।

'छलफल/भेटघाट हुनु सामान्य भयो नि। देशभर नै एमसीसीबारे प्रश्न उठेको छ। त्यहीँ विषयमा अध्यक्षसँग प्रकाश कमरेडले भेट्नुभएको हो,'श्रेष्ठ निकट नेता गिरिराजमणि पोखरेलले भने।

श्रेष्ठ निकट अर्का नेता लीलामणि पोखरेलले एमसीसीबारेमा पार्टीभित्र विवाद चर्किएको भए पनि प्रचण्डले दिएको अभिव्यक्तिबारे आफूले टिप्पणी नगर्ने बताए। उनले शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा विवादलाई दस्तावेजीकरण गरेरै लैजाने संकेत गरे।

भने,'अहिले समाज नै विभाजित भएका बेलामा पार्टीमा प्रश्न उठ्नु सामान्य हो। यसलाई व्यवस्थित गरेर केन्द्रीय कमिटीको बैठकमा लैजान्छौँ,'उनले भने।

आफू निकटसँग श्रेष्ठले पार्टीबाट अलग हुनसक्ने विषयमा छलफल अघि बढाएपछि प्रचण्डले श्रेष्ठलाई फकाइरहेका छन्।

एमसीसी पारित भएपछि नारायणकाजीले तत्काल सामाजिक सञ्जातमार्फत 'व्याख्यात्मक घोषणा' गरेर एमसीसी पास गर्नु सुनियोजित षडयन्त्र गरेको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका थिए। गत सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठलाई जवाफ दिँदै विवादलाई पार्टी बाहिर लगेको भन्दै एमसीसीको विरोध गर्दैमा कार्यकर्ता उनको पछि नलाग्ने चेतावनी दिए।

विप्लवको सन्देश : एमसीसी विरोधी एक ठाउँ

माओवादी केन्द्रमा विवाद चर्किँदै गइरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भने राजनीतिक सक्रियता बढाएका छन्। बिहीबार नेकपा (एमाले) का नेता भीम रावललाई भेटेका विप्लवले बुधबार नारायणकाजी र त्यसअघि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई भेटेका थिए। एमसीसीका विरोधमा सहकार्य गर्न विप्लवले सहकार्यको प्रस्ताव गरिरहेका छन्।

बिहीबार विप्लवसँगको भेटपछि रावलले भनेका छन्, 'राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।'

रावल पार्टीको निर्णय विपरीत प्रतिनिधि सभाको बैठकमा भाग लिएर एमसीसीका विरुद्धमा बोलेका थिए। एमालेले संसद् बैठकलाई अवरोध गर्न नाराबाजी गरिरहेको भए पनि रावलले एमसीसीको विरोधमा प्रतिनिधि सभाको बैठकमा बोलेका थिए।

पार्टी नीति विपरीत गएर रावलले अनुशासनको उल्लङ्घन गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न सक्ने चेतावनी दिएका छन्।

'आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही र विचार कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरुद्ध पृथक् देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन्,' रावललाई चेतावनी दिँदै ओलीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए।

समाजवादीमा पनि विवाद

नेकपा (एकीकृत समाजवादी) मा पनि एमसीसीका विषयमा विवाद छ। एमसीसीलाई पारित गर्ने पार्टी निर्णयका विरोध गरिरहेका छन् नेता झलनाथ खनालले।

फागुन १६ गते बसेको स्थायी कमिटीको बैठकमा केही नेताहरूले अध्यक्ष माधव नेपालको आलोचना गरेका थिए। खनालले प्रतिनिधि सभाबाट एमसीसी पारित हुने बैठक नै बहिष्कार गरेर विरोध जनाएका थिए।

उनले सत्तारुढ दलका नेताहरूले राष्ट्रघात गरेको आरोप लगाइरहेका छन्। 'व्याख्यात्मक घोषणा' गरेर सत्ता गठबन्धनले ठिक नगरेको खनालको भनाइ छ। यद्यपि समाजवादीमा एमसीसीकै विरोधले पार्टी विभाजन हुने सम्भावना कम भएको नेताहरूको भनाइ छ।

एमसीसीबारेको विवादलाई समाधान गर्न एकीकृत समाजवादीले फागुन २३ गते पोलिटब्युरो र २५, २६ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टी सचिव जीवनराम श्रेष्ठले पार्टीभित्रको विवादबारे कमिटीमा छलफल गरेर समाधान हुने बताए।

'पार्टीमा विवाद हुने नै भयो। आफ्ना आफ्ना मतहरू हुन सक्छन्। तर व्याख्यात्मक घोषणासहित पारित गर्ने भन्ने निर्णय भएको हो। त्यसैले आफूलाई लागेको कुरा आफैँसँग रहन्छ। पार्टी निर्णय नै सबैले बोकेर हिड्नेकुरा हुन्छ,' उनले भने।

एमसीसीको विरुद्ध रहेका नेताहरूले मोर्चबन्दीको प्रयास थालेका छन्। त्यसको संकेत विप्लवसहितका साना कम्युनिस्ट घटकहरूले शुक्रबार राजधानीमा आयोजना गरेको विरोध सभामा पनि देखिने छ। विभिन्न राजनीतिक दलहरूमा रहेका एमसीसी विरोधी नेता/कार्यकर्तालाई मोर्चाबन्दी गर्ने प्रयासमा विप्लवदेखि रावल/श्रेष्ठ सक्रिय रहेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell