PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

राष्ट्रिय सभाबाट २० सांसदको बिदाइ, निर्वाचित १९ सांसदको सपथग्रहण भोलि



पहिलोपोस्ट

राष्ट्रिय सभाबाट २० सांसदको बिदाइ, निर्वाचित १९ सांसदको सपथग्रहण भोलि

काठमाडौं : राष्ट्रिय सभामा चारवर्षे कार्यकाल पूरा गरेका २० सांसदले आजदेखि बिदा लिँदै छन्। एमालेका आठ, नेकपा माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका चार, नेपाली कांग्रेसका तीन र राष्ट्रपतिबाट मनोनीत एक गरी २० सांसदको पदावधि सकिन लागेको हो।

यसअघिझैं उनीहरुले संसद् भवनबाट औपचारिक बिदा भने पाउनेछैनन्। प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रिय सभामा पनि एमाले सांसदले अवरोध गर्दै आएकाले पटकपट बैठक स्थगित हुँदै आएको थियो। अन्तिम पटक माघ १६ गते अनिश्चितकालका लागि संसद् बैठक स्थगित भएको सूचना जारी गरिएको थियो।

तर, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबार नजिकको एक होटलमा आझै साँझ बिदाइ हुन लागेका सांसदहरु डाकेका छन्। त्यहीँ उनीहरुले आफ्ना अनुभव सुनाउनेछन्।

कोको बिदा हुँदै छन्?

  • एमालेबाट अगमप्रसाद बान्तवा, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल
  • एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर, उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जीसी माओवादीबाट दीनानाथ शर्मा, शशिकला दाहाल, निर्वाचित खिमकुमार विक, जीवन बुढा
  • कांग्रेसबाट राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्ट तथा राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारी


कोको आउँदै छन्?
गत माघ १२ गते भएको राष्ट्रिय सभाको १९ सिटमा निर्वाचित सांसदहरुले भोलि सपथ ग्रहण गर्दैछन्। नवनिर्वाचित सांसदहरुको सपथ भोलि ११ बजे संघीय संसद् सचिवालयमा हुनेछ।

नयाँ सांसदमा कांग्रेसबाट गोपालकुमार बस्नेत, युवराज शर्मा, दुर्गा गुरुङ, कृष्णप्रसाद पौडेल, कमला पन्त र नारायणदत्त मिश्र छन्। एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, उदयबहादुर बोहरा, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की छन्।

एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्माले पनि भोलि राष्ट्रिय सभा सदस्य पदका लागि सपथ लिँदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell